Comments Add Comment

कोरोना संक्रमितलाई अन्तिम सलाम ! (फोटोकथा)

२८ साउन, काठमाडौं । धादिङका ३२ वर्षका एक पुरुषको मंगलबार काठमाडौंको ह्याम्स अस्पतालमा मृत्यु भयो । नीलकण्ठ नगरपालिका –१४ धुवाँकोटका उनको मृत्यु भएको भोलिपल्ट बुधबार मात्र कोरोना संक्रमण पुष्टि भयो ।

संक्रमितको बुधबार नै अन्त्येष्टि गर्ने खबर पाएपछि हामी पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा पुग्यौं । दिउँसो चार बजेसम्म शवदाह गृह क्षेत्र सुनसान थियो । शव व्यवस्थापनको तयारीका लागि तीन कर्मचारी शवदाह गृहको गेटभित्र बसिरहेका थिए ।

व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) नलगाएका एक जना कसैसँग टेलिफोनमा कुरा गरिरहेका थिए भने दुईजना भने पीपीई लगाएर शवको प्रतीक्षामा थिए ।

पाँच मिनेटपछि साइरन बजाउँदै एउटा शव वाहन द्रुत गतिमा आइपुग्यो । शव वाहनलाई हरियो रङको जीपले पच्छाइरहेको थियो । पछिल्लो गाडीमा कोरोना संक्रमणबाट मृत्यू भएकाहरुको शव व्यवस्थापन गर्ने नेपाली सेनाको टोली थियो ।

शव वाहन शवदाह गृहको छेउमै पुगेर रोकियो । हरियो जीपबाट चार जना निस्किए । उनीहरुको शिरदेखि पाउसम्म सेतो कपडाले ढाकिएका थिए । चश्मा र फेस शिल्ड लगाएका थिए ।

उनीहरुले शव वाहनको पछाडिपट्टिको ढोका खोलेर  प्याक गरिएको शव निकालेर स्टेचरमा राखे । शवको एकातिर लहरै बसे र हात निधारमा पुर्‍याएर शवलाई स्यालुट दिए ।

त्यसपछि स्टेचर उचालेर विद्युतीय शवदाह गृहभित्र पुर्‍याए । त्यहाँ पुर्‍याएपछि नेपाली सेनाको काम सकियो । अब पीपीई लगाएर तयारी अवस्थामा रहेका शवदाह गृहका कर्मचारीको काम सुरु भयो ।

उता कर्मचारीले शव अन्त्येष्टि गर्दै थिए, यता नेपाली सेनाको टोली सेनिटाइज गर्नमा ब्यस्त थियो । उनीहरुले जीउभरी स्प्रे छर्किए र चुपचाप गाडीमा बसे र फर्किए । बुधबार मात्र काठमाडौं उपत्यकामा पाँच जना संक्रमितको मृत्यू भएको छ । सायद उनीहरुलाई अरु शवको व्यवस्थापन गर्नको लागि पनि हतारो भएको हुनुपर्छ ।

सामान्य मानिसको मृत्यू भएको भए यतिबेला शवदाह गृह पशुपतिमा मलामीको घुइँचो देखिन्थ्यो । मृतकका आफन्त दागबत्ती दिनेदेखि संस्कारिक काम गर्नमा व्यस्त हुने थिए ।

अन्तिम संस्कारको कर्मकाण्ड पूरा गरी मृतकलाई अन्त्येस्टि गर्दासम्म थुप्रै आफन्तको आँखा आँशुले भरिएको हुने थियो । तर, धादिङका यी संक्रमितको अन्त्येष्टिको क्रममा सीमित आफन्त र गाउँका केही सदस्य उपस्थित थिए । संक्रमित प्लास्टिकसँगै विद्युतीय सव दाह गृहमा बिलाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment