+
+
Shares

वर्षाको गतिविधि बढ्ने भन्दै उच्च सतर्कता अपनाउन धनकुटा प्रशासनको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते ६:५३

८ असोज, धनकुटा । यही असोज ९ देखि ११ गतेसम्म देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटाले बुधबार सूचना जारी गर्दै भारी वर्षाका कारण बाढी, पहिरो, कटान, गेग्रान तथा बहाव आउने सम्भावना रहेकाले नदी तथा नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज ७ गतेदेखि देशभर वर्षाको गतिविधि बढ्दै जाने र असोज ९ देखि ११ गतेसम्म कोशी प्रदेशलगायतका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाका कारण बाढी, पहिरो, कटान, गेग्रान तथा बहाव आउन सक्ने होचा भू–भाग तथा नदी तटीय क्षेत्रमा डुबानको जोखिम बढ्नुका साथै कृषि, स्वास्थ्य, पर्यटन तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने बताइएको छ । त्यस्तै सडक मार्गसमेत अवरुद्ध हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले भारी वर्षाको अवधिमा अत्यन्त जरुरी नभई टाढा तथा रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ । नदी तथा खोला किनार, पहिरोको जोखिम भएका भू–भाग, भिरालो जमिन तथा डुबान हुनसक्ने क्षेत्रमा विशेष सावधानी अपनाउन पनि आग्रह गरेको छ ।

प्रशासनले सम्भावित विपद्का बारेमा सुरक्षा निकाय, स्थानीय तह, रेडक्रस, सरोकारवाला निकाय तथा सर्वसाधारणलाई समयमै सूचना प्रवाह गर्न र जोखिमयुक्त स्थानमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा रहन तथा स्थानीय तहबाट आवश्यक समन्वय गर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत रामजी पौडेलले जानकारी दिए ।

त्यसैगरी जोखिमयुक्त राजमार्ग तथा सडकहरूमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित आयोजना तथा निकायलाई आग्रह गरिएको उनको भनाइ छ । मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणबाट जारी हुने सूचना तथा चेतावनीसम्बन्धी जानकारी नियमित रुपमा लिन पनि प्रशासनले सबैलाई आग्रह गरेको छ ।

भारी वर्षा तथा बाढीबाट प्रभावित भएमा वर्षा तथा बाढीबारे जानकारी लिन ११५५, सशस्त्र प्रहरी बल नेपालको हटलाइन नम्बर १११४, जिल्ला आपत्कालीन सञ्चालन केन्द्र १२३४, नेपाल प्रहरी १०० तथा जिल्ला प्रहरी कार्यालय धनकुटाको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?