
२९ साउन, काठमाडौं । पेरुमा कोरोना भाइरसको संक्रमण बढेपछि परिवारिक जमघटमा रोक लगाइएको छ । साथै थप पाँच क्षेत्रमा लकडाउन सुरु गरिएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार पेरुका कूल २५ क्षेत्रमध्ये १५ क्षेत्रमा पहिलेदेखि नै लकडाउन जारी छ ।
राष्ट्रपति मार्टिन विजकाराले पेरुको राजधानी लिमास्थित सरकारी निवासमा सम्बोधन गर्दै भने, ‘हामीलाई कोरोना संक्रमण गराउनेहरुलाई हामी चिन्दछौं, आफन्तहरु, जो हामीलाई भेट्न आउँछन्, साथीहरु जो बारबिक्युमा भेला भएर रमाइलो गर्छन् । यो एक समस्या हो, यसलाई मिलेर समाधान गर्नुपर्ने छ ।’
पछिल्लो आँकडाअनुसार बच्चा र किशोरमा कोरोना संक्रमण ७५ प्रतिशतले बढेको देखिएको छ । हालका दिनहरुमा पेरुमा हरेक दिन सात हजार नयाँ संक्रमित फेला पर्दै आएका छन् । करिब २ सय जनाको दैनिक मृत्यु हुने गरेको छ ।
पेरुमा हालसम्म चार लाख ९० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१ हजारभन्दा धेरैको मृत्यु भएको छ ।
प्रतिक्रिया 4