Comments Add Comment

मैदान फर्कने खेलाडीको प्रतीक्षा लम्बियो

२९ साउन, काठमाडौं । गत साउन ११ गते सरकारले भदौ १ देखि खेलकुदको प्रशिक्षण पनि सुरु गर्न सकिने निर्णय गरेपछि खेल क्षेत्रमा देखिएको उत्साह लामो समय टिकेन ।

उपत्यकासहित देशका धेरै शहरमा कोरोना संक्रमण फैलिएपछि भदौ १ देखि खुल्ला गर्ने भनिएको खेलकुदसहित विभिन्न क्षेत्र सरकारले फेरि भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरिसकेको छ ।

फुटबल र क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता हुने सम्भावना रहेकोले यी दुई खेल संघले प्रशिक्षण सुरु गर्ने तयारी गरेका थिए । विश्वकप छनोट खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने भनी कोरोना संक्रमण परीक्षण पनि गराइसकेको थियो । तर एएफसीले विश्वकप छनोटका खेलहरु २०२० मा नहुने र २०२१ मा गर्ने सूचना जारी गरेपछि नेपाली टोलीको प्रशिक्षण सुरु नभई स्थगित भयो ।

एन्फाले काठमाडौं बोलाएर होटलमा क्वारेन्टिनमा राखेका खेलाडीलाई घर पठाइसकेको छ । ‘अब एएफसीबाट अर्को सूचना नआएसम्मको लागि प्रशिक्षण हुँदैन’ फुटबल टिमका म्यानेजर मधुसुदन उपाध्यायले भने । अब नेपाली फुटबल टोलीले कम्तीमा ५ महिना अन्तर्राष्ट्रिय खेल खेल्ने सम्भावना छैन ।

क्रिकेटमा पनि नेपालले सन् २०२० मा कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तालिका छैन । सेप्टेम्बरमा विश्वकप लिग २ अन्तर्गतका खेल सुरु गर्ने प्रयास भइरहेपनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले २०२० भर नेपालले खेल्नुपर्ने कुनै अन्तर्राष्ट्रिय खेल नभएको जानकारी गराइसकेको छ ।

नेपाल क्रिकेट संघ क्यानले पनि भदौ १ देखि नै खेलाडीको प्रशिक्षण सुरु गर्ने तयारी गरिरहेको थियो । तर अन्तर्राष्ट्रिय खेल नहुने भएपछि प्रशिक्षण तत्काल नगर्ने भएको हो ।

नेपाल भलिबल संघले पनि खेलाडीको प्रशिक्षण सुरु गर्ने मनसाय बनाएको छैन । ‘जताततै कोरोनाको संक्रमण बढेको छ । यस्तो बेला कसरी प्रशिक्षण सुरु गर्न सकिएला र?’ नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा उल्टै प्रश्न गर्छन् ‘अब परिस्थिती नसुध्रिएसम्म चुप लागेर बस्नुको विकल्प छैन ।’

नेपालको पुरुष र महिला दुवै टोलीले यसै वर्ष एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने तालिका थियो । तर कोरोना संक्रमण बढ्दै गएपछि ती प्रतियोगिता पनि अनिश्चित बनेको छ ।

यस्तै २०२१ मा जापानमा हुने टोकियो ओलम्पिकको छनोट खेल्ने तयारीमा रहेका कराते खेलाडीको प्रशिक्षण पनि स्थगित भएको छ । १३ औं सागका स्वर्ण विजेता कराते खेलाडीहरु अनु अधिकारी र नवीन रसाइलीले टोकियो ओलम्पिकलाई लक्षित गर्दै असार ७ देखि सातदोबाटोस्थित कराते हलमा प्रशिक्षण सुरु गरेका थिए ।

तर खेल क्षेत्रका व्यक्तिलाई कोरोना देखिएको र संक्रमण दर पनि बढ्दै गएको भन्दै दुई खेलाडीलाई प्रशिक्षण दिइरहेका प्रशिक्षक दीपक श्रेष्ठले प्रशिक्षण स्थगित गराएको बुधबार जानकारी गराए ।

केही दिनअघि स्क्वासका प्रशिक्षक हिरा थापालाई कोरोना संक्रमण देखिएपछि अहिले खेल क्षेत्र पनि त्रासमा छ । बुधबार राष्ट्रिय खेलकुद परिषद राखेप र लायन्स क्लब मेल्भिन जोन्स मिलेर त्रिपुरेश्वरमा विभिन्न खेलका खेलाडी प्रशिक्षक र राखेप कर्मचारीहरुको कोरोना परीक्षण गराएको छ ।

कोरोना भाइरसको संक्रमण र त्यसपछि भएको लकडाउनले गर्दा नेपाली खेल क्षेत्र २०७६ चैतदेखि नै प्रभावित बनेको छ । सरकारले लकडाउन खुला गरेपछि खेलकुद क्षेत्र चलायमान हुने आशा बढेको थियो । तर फेरि संक्रमणको दर बढ्न थालेपछि अब खेलाडीले मैदान फर्केर प्रशिक्षणका गर्नका लागि फेरि कुर्नुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment