Comments Add Comment

टेकु अस्पतालमा कोरोना जँचाउने भीडमा उभिँदा…

२९ साउन, काठमाडौं । नेपालको एकमात्र सरुवा रोग अस्पताल हो- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु । अघिल्ला वर्षहरुमा अन्य भाइरल रोगका बिरामीको उपचार गर्ने टेकुमा यतिबेला कोरोना संक्रमण परीक्षण गर्नेहरुको लाइन छ ।

तपाईलाई लाग्न सक्छ, देशभरका कोरोना संक्रमितको रिपोर्ट सार्वजनिक गर्ने अस्पताल त निकै व्यवस्थित होला । यो पनि अपेक्षा होला कि कोरोना संक्रमण संख्या बढिरहेका बेला टेकुमा पुगेर अन्य अस्पतालले व्यवस्थापनको पाठ सिक्न पाउलान् ।

टेकु अस्पतालको माहौलले अर्कै सन्देश प्रवाह गर्छ ।

अनिल चौधरी

शुक्रबार बिहानैदेखि परीक्षणका लागि लाइनमा बसेका अनिल चौधरी भन्छन्, ‘आफू र परिवारलाई सुरक्षित राख्नका परीक्षण गर्न आएको, झन् यहाँबाटै कोरोना सर्ला भनेर डराई-डराई बस्नुपरेको छ ।’

चौधरी दुई हप्ताअघि चाटर्ड फ्ल्याइटमार्फत भारतबाट नेपाल आएका हुन् । विहीबार सात बजे नै आएर लाइनमा बसेका अनिलले साढे १२ बजेसम्म स्वाब दिनसमेत पाएका थिएनन् । तैपनि, यसमा उनलाई दुःख छैन ।

कोरोना परीक्षणका लागि अस्पतालमा दिनहुँ सयौँको संख्यामा भीड लाग्ने गर्छ । अस्पतालले दैनिक तीन सय सर्वसाधारणको स्वाब संकलन गर्दै आएको छ । तर, स्वाब परीक्षणअघि कागजपत्र मिलाउने ठाउँमा न कुनै दुरी कायम गरिएको छ, न सावधानी नै अपनाइएको छ । स्वाब परीक्षण गर्न पुगेकाहरु मानिसमाथि मानिस टाँसिएर लाइनमा भीड गरेका देखिन्छन् ।

‘कोरोना संक्रमणको शंका लागेर परीक्षणका लागि यहाँ आएका होलान्’, अनिल प्रश्न गर्छन्, ‘यो त झन् कोरोनाको ‘डेन्जर जोन’ जस्तै भएन र ?’

सुकेधाराबाट कोरोना परीक्षण लागि लाइनमा बसेका राजकुमार थापाको पनि उस्तै गुनासो छ । ‘पीसीआर परीक्षणविना अफिस जान नपाएपछि पहिलोपटक जाँच्न आएको हुँ’, राजकुमारले भने, ‘तर, यहाँको म्यानेजमेन्ट भने सिस्टमेटिक देखिएन । बिहानैदेखि सामाजिक दुरी कामय गरेको पनि देखिनँ ।’

कार्गो अफिसमा काम गर्ने राजकुमारले अहिले घरैबाट काम गरिरहेका छन् । परीक्षणपछि अफिस जाने उनले सुनाए ।

टेकुमा स्वाब दिनका लागि तीनवटा खुड्किलाहरु पार गरेर जानुपर्छ ।

शुरुमा ढोकानेरको काउन्टरमा ३० रुपैयाँको टिकट लिनुपर्छ । यो बिहान साढे सात बजेदेखि साढे एक बजेसम्म खुल्ने गर्छ ।

टिकट लिइसकेपछि नाम दर्ता र सम्बन्धित डाक्टरसँग सोधपुछका लागि अर्को लाइन बस्नुपर्छ । यदि लक्षण नभएमा वा डाक्टरले आवश्यक नठानेमा त्यहीँबाटै घर फर्काइदिन सक्छन् ।

दोस्रो काउन्टरबाट यसरी काजपत्र तयार पारेपछि भीटीएम लिनका लागि अर्को लाइन बस्नुपर्छ, जहाँ अत्यधिक भीड हुने गर्छ ।

यति पार गरिसकेपछि बल्ल स्वाब परीक्षणको लाइनमा बस्न पाइन्छ ।

बिहीबार टेकु अस्पतालमा हरेक लाइनमा उत्तिकै भीड देखिन्थ्यो । बिहान ६ बजे नै आएर लाइनमा बसेका पर्साका नौसाद अन्सारीले दिउँसो एक बजेमात्रै स्वाव परीक्षण गर्न पाए ।

‘घरबेटीले बस्न नदिएपछि परीक्षण गर्न आयौँ’

नौसाद अन्सारी

पर्साका नौसाद अन्सारी बुधबार दिउँसो साढे एक बजेतिर कलंकी आइपुगेका थिए । कलंकी आएपछि आफ्नो घरबेटीलाई फोन गरे ।

नौसादलाई जे शंका थियो, घरबेटीले त्यही जवाफ फर्काए, ‘घरमा बस्ने हो भने पहिले कोरोना परीक्षणको नेगेटेभ रिपोर्ट लिएर मात्र आउने ।’

अब उनलाई फसाद पर्‍यो ।

नौसाद हतार-हतार २ बजेतिर टेकु अस्पतालमा पुगे । तर, टिकट काउण्टर बन्द भैसकेको थियो । निराश भएर फर्किएका नौसाद विहीबार बिहानै ६ बजे लाइन लाग्न आइपुगे । तर, उनी आउनुभन्दा अघि नै लाइन बस्नेहरुको लर्को लामै भइसकेको थियो ।

‘चार महिना घर बसेर काठमाडौं आएको हुँ’, गार्मेन्टमा सिलाइको काम गर्ने नौसादले भने, ‘आज स्वाब दिएको छु । अब त घरबेटीले बस्न दिन्छन् कि Û’

मोरङका शैलेन्द्र कुमारको पीडा नौसादकोभन्दा बढी छ । बल्खु बस्ने शैलेन्द्रले लकडाउनअघि मण्डीमा केरा बेच्ने काम गर्थे । लकडाउनमा घर गएका उनी १५ दिनअघि व्यापार गर्ने भन्दै केराकै गाडीको मेसो पारेर काठमाडौं आए । तर, एक दिनपछि उनी घरबाट बाहिर निस्कन पाएनन् ।
‘घरबेटीले घरबाहिर निस्कनै नदिएपछि बिजोग भयो’, उनी भन्छन्, ‘घरबेटी पीसीआर रिपोर्ट नेगेटिभ लिएपछि मात्र घरबाहिर काममा निस्कन दिने भनेपछि परीक्षणका लागि आएको हुँ ।’

शैलेन्द्र कपडाको मास्क लगाएर खचाखच लाइनमा उभिएका थिए । केरा बिक्री गर्न नपाउँदा उनलाई कोरोनाले भन्दा कोठाभाडा कसरी तिर्ने होला भन्ने चिन्ताले सताएको छ ।

गार्मेन्टमा काम गर्ने साबिर अन्सारीले पनि घरबेटीले रिपोर्ट लिएर आउन भनेपछि पीसीआर परीक्षणको लाइनमा उभिन आइपुगेका हुन् ।

रितलाल ठाकुर

बाराका रितलाल ठाकुरले १५ दिनअघि नै पीसीआर परीक्षण गरेका थिए । त्यतिबेला उनको रिपोर्ट नेगेटिभ नै आएको थियो । कोरोना संक्रमण नभएको रिपोर्ट आएपछि उनले आफ्नो शैलुनलाई निरन्तरता दिए । रितलालले बालुवाटारमा शैलुन सञ्चलन गर्दै आएका छन् ।

‘अहिले प्रहरीले शैलुन पनि बन्द गरिदियो । घरबेटीले पनि फेरि कोरोना परीक्षण गरेर मात्र घर आउन आदेश दिएपछि पुनः परीक्षण गर्न आएको हुँ’ उनले भने ।

कपाल काट्दाचाहिँ कोरोनाको डर लागेन ? रितलालले जवाफ फर्काए, ‘डर त लाग्थ्यो तर, के गर्ने, काठमाडौंमा आएपछि खानको लागि काम त गर्नैपर्‍यो नि ।’

तराईबाट काठमाडौं आएका प्रायः गरीब एवं विपन्न समुदायका मानिसहरुलाई घरबेटीले पीसीआर रिपोर्ट ल्याउन आउन भनेपछि उनीहरु टेकु अस्पतालको लाइनमा उभिने गरेको अस्पतालका कर्मचारीहरु बताउँछन्

भिड व्यवस्थापन गर्न सकिएन : डा. राजभण्डारी

टेकुमा लाइन लागेर दैनिक हुने पीसीआर परीक्षणमा ७५ देखि ८० प्रतिशत मानिसहरु तराईबाट आउने गरेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारी बताउँछन् ।
डा. राजभण्डारीले जति प्रयास गर्दा पनि भीड नियन्त्रण गर्न नसकिएको प्रतिक्रिया थिए । उनले भने, ‘हामीले कति सम्झायौँ, रिसायौँ पनि । तर, दुई मिनेटपछि भीडभाड गरिहाल्छन् ।’

डा. सागरले दैनिक करिब तीन सयजना सर्वसाधारणको परीक्षण हुने गरेको बताए । त्यसैगरी कन्ट्याक्ट ट्रेसिङबाट आएका र कारागारका समेत गरी दैनिक चार सय स्वाव संकलन हुने गरेको उनले जानकारी दिए ।

लक्षणका आधारमा मात्र नभई अहिले टेकु अस्पताल पुग्ने जो कसैको स्वाव संकलन गर्ने गरिएको उनले बताए । लक्षण भएकाहरु र संक्रमितको क्लोज कन्ट्याक्टमा भएकाहरुलाई पहिलो प्रथामिकतामा राखेर स्वाव संकलन गर्ने गरेको डा. सागरले अनलाइनखबरलाई बताए ।

तस्वीरः शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment