Comments Add Comment

नेकपामा विवाद सुल्झाउन कार्यदल गठन, महासचिव संयोजक

३० साउन,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको आन्तरिक विवाद समाधानको खाका बनाउन ६ सदस्यीय कार्यदल गठन गरेको छ ।

शुक्रबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा कार्यदल गठन गर्ने सहमति भएको हो ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य छन् ।

ओली, प्रचण्ड र माधव नेपाल समूहका दुईदुई जना रहेको कार्यदललाई कुनै समय सीमा तोकिएको छैन । तर कार्यदलले चाँडोभन्दा चाँडो पार्टीभित्रका समस्या समाधानका लागि एकीकृत सुझाव दिने महासचिव पौडेलले बताए ।

कार्यदलले पार्टीमा उत्पन्न समस्या समाधानका सम्बन्धमा कुन विषयमा कसरी सहमति गर्ने भनेर लिखित रुपमा दुई अध्यक्षलाई लिखित सुझाव पेश गर्नेछ । त्यसआधारमा दुई अध्यक्षले सहमतिको प्रस्ताव सचिवालयमा पेश गर्नेछन् । त्यसपछि मात्र स्थगित स्थायी कमिटी बैठक सुचारु हुने नेकपा स्रोतले जनाएको छ ।

कार्यदलका संयोजक एवं नेकपा महासचिव पौडेलले पार्टीमा देखिएको सबै समस्यालाई सकारात्मक रुपमा समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउन दुवै अध्यक्ष सहमत रहेको बताए । उनले अघि भने, ‘हामी नयाँ ढंगले एकताबद्ध हुनेछौं ।’

नेकपा स्रोतका अनुसार कार्यदलमा प्रधानमन्त्रीको राजीनामा लगायतका विषयमा पनि छलफल हुनेछ । यद्यपि केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाहेकका विषयमा सहमति गर्ने प्रस्ताव अर्का अध्यक्ष प्रचण्डसामू राख्दै आएका छन् ।

बिहीबार भएको भेटमा पनि ओलीले त्यही प्रस्ताव गरेका थिए । चैतमा महाधिवेशन गर्ने, सहमतिकै आधारमा सरकार तथा पार्टी सञ्चालन गर्ने, मन्त्रिपरिषद पुनर्गठन, मुख्यमन्त्रीहरु हेरफेर समेत गर्न सकिने ओलीको प्रस्ताव छ । उपाध्यक्ष वामदेव गौतमले पनि १३ साउनमा त्यस्तै प्रस्ताव अघि सारेका थिए ।

कार्यदल रहेकामध्ये महासचिव विष्णु पौडेल र नेताहरु शंकर पोखरेल तथा जनार्दन शर्माले ओली र प्रचण्डबीच यसअघि त्यस्तै सहमति गराउने प्रयास गरेका थिए । त्यसअनुसार मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव सचिवालय बैठकमा राखेर नेताहरु राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए । तर ओलीले जनताको बहुदलीय जनवाद (जबज) मान्नुपर्ने शर्त राखेपछि प्रचण्ड सहमत भएनन् ।

स्रोतका अनुसार अहिले पनि वैचारिक राजनीतिक विषयमा दुई अध्यक्षबीच छलफल भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment