Comments Add Comment

१ भदौबाट सुरु हुनेछ अर्को चरणको उद्धार उडान

३० साउन, काठमाडौं । सरकारले १ भदौबाट व्यवसायिक उडान खोल्ने घोषणा गरेको थियो । तर, मुलुकभित्र कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले व्यवसायिक उडान स्थगन थप १५ दिन लम्ब्याएको छ ।

तर, बीचमा भने १५ दिन उद्धार उडानहरु भने नियमित हुने भएका छन् । नेपाल वायुसेवा निगमका अनुसार १७ अगष्टदेखि ३१ अगष्टसम्म अब उद्धार उडान हुने भएका छन् । सरकारले अब दैनिक ५ सय जनालाई नेपाल ल्याउने निर्णय गरिसकेको छ ।

त्यसमध्ये २ सय जना सरकारले आफ्नो पैसामा ल्याउने छ । ३ सय  जना भने आफैंले टिकट काटेर आउने नेपाली हुनेछन् । उनीहरु सम्बन्धित मुलुकमा रहेको नेपाली दूतावासले गरेको सिफारिसका आधारमा आउने छन् ।

बिहीबारसम्म विदेशबाट ५० हजार ४ सय १३ जनाको उद्धार भइसकेको छ । यसमध्ये सबैभन्दा धेरै यूएईबाट १४ हजार ६५ जना नेपाली घर फर्किएको तथ्यांक रहेको छ ।

आज चीन फर्किए २५३ यात्रु

शुक्रबार नेपाल एयरलाइन्सको जहाजले नारिताबाट ५ बच्चासहित १ सय ५४ जना यात्रुलाई काठमाडौं ल्याएको छ । आजै चाइना साउर्दन एयरलाइन्सले नेपालबाट २ सय ५३ जना यात्रु बोकेर गुआन्जाउ उडेको छ ।

१ सय ७५ जना यात्रु लिएर मस्कटबाट काठमाडौं आएको सलाम एयर ३० यात्रु बोकेर फर्किएको छ । आजै नेपाल एयरलाइन्सले दोहाबाट कार्गो बोकेर आएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । हङकङबाट क्याथे ड्रागनसमेत काठमाडौं आएको हो ।

शनिबार कार्गो उडानका लागि हिमालय एयरलाइन्सको जहाज जानुबाहेक अन्य उडान तालीका तय नभएको विमानस्थल कर्यालयले जनाएको छ ।

शुक्रबार आन्तरिकतर्फ भने ९ उडान-अवतरण भएको छन् । ५ यात्रु बोकेर तारा एयर लुक्ला उडेको छ । कार्गो बोकेर समीटको जहाज पनि लुक्ला उडेको छ । ८ यात्रु बोकेर सीता एयर नेपालगन्ज उडेको छ ।

एयर डाइनेस्टीको हेली २ यात्रु बोकेर भैरहवा गएको छ । काठमाडौंबाट १७ यात्रु बोकेर डोल्पा उडेको समीटको जहाजले ११ यात्रु लिएर काठमाडौं आएको छ । मनाङ हेली २ यात्रु लिएर लुक्लाबाट काठमाडौं आएको छ ।

कैलास हेली २ यात्रु सहित सिन्धुपाल्चोक गएको थियो । ४ यात्रु लिएर फर्किएको छ । सिमि्रक हेली पोखरा उडेको छ । मनाङको अर्को हेली सिन्धुपाल्चोकबाट २ यात्रु लिएर काठमाडौं आएको विमानस्थलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment