Comments Add Comment

छोरा आइसोलेसनमा, आमाको शव उठाउने कोही भएन

छोरा–बुहारीलाई कोरोना देखिएको भन्दै छिमेकी पनि आएनन्

३२ साउन, विराटनगर । विराटनगर महानगरपालिका–३ की ८७ वर्षीया वृद्धाको मृत्यु भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकी वृद्धाको शनिबार राति मृत्यु भएको हो ।

मृतक वृद्धाकी छोरामा कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा छन् । उनको स्याहारमा बसेकी बुहारीलाई पनि आइतबार बिहान कोरोना पोजेटिभ रिपोर्ट आएको छ । वृद्धाको रिपोर्ट नेगेटिभ आए पनि पुनः परीक्षण गर्न स्वाब संकलन गरिएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि उनका ५६ वर्षीय छोरालाई मंगलबार नै मारवाडी सेवा सदनको आइसोलेसनमा लगिएको छ । छोरा आइसोलेसनमा रहेकै अवस्थामा आमाको शनिबार राति ९ बजेतिर आफ्नै घरमा मृत्यु भएको हो ।

छोरालाई आइसोलेसनमा भर्ना गरिएपछि ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएकाले बुधबार वृद्धाको पनि पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । मृत्युपछि कोरोना रिपोर्ट नेगेटिभ देखियो तर पुनः परीक्षणको तयारी छ । वृद्धा महिलाको स्याहारमा बसेकी बुहारीको रिपोर्ट पोजेटिभ आएको विराटनगर–३ का अध्यक्ष विनोदकुमार बस्नेतले बताए । बुहारी घरमै छिन् ।

पुगेनन् छिमेकी

८७ वर्षीया खतिवडा थरकी वृद्धा महिलाको शनिबार राति मृत्यु भए पनि सहानुभूति प्रकट गर्न न छिमेकी पुगेका छन्, न त अन्य आफन्त नै । विराटनगर–३ का अध्यक्ष बस्नेतका अनुसार वृद्धाको स्यहारमा बसेकी बुहारी र छोरामा कोरोना देखिएका कारण छिमेकीहरु पुगेका छैनन् । ‘छिमेकीहरु जान डराइरहेका छन् । हिजोदेखि घरमै छ शव,’ उनले भने, ‘के गर्ने भनेर हामी सल्लाह गर्दैछौं ।’

संक्रमण पोजेटिभ देखिएका मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्दै आएको छ । नेगेटिभ देखिए शव आफन्तलाई जिम्मा लगाइँदै आएको छ । तर छिमेकी जान डराएका कारण वृद्धाको अन्त्येष्टिमा समस्या देखिएको हो ।

मंगलबारदेखि छोरा आइसोलेसनमा

प्रदेश १ को पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अधिकृतसमेत रहेका वृद्धाका छोरा आइसोलेसनमा छन् । उनी चालक र कार्यालयका अरु दुई अधिकृतसहित गत साउन १८ गते कृषि र भेटेरिनरीको अनुगमन निरीक्षणका लागि ओखलढुंगा र सोलुखुम्बु गएका थिए ।

चार जनाको टोलीमध्ये चालकसहित दुई जनालाई ज्वरो आएको थियो । विराटनगरमा सोमबार परीक्षणका लागि स्वाब दिएका थिए । मंगलबार पोजेटिभ आएपछि उपचारका लागि उनलाई भने आइसोलेनसमा भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment