२१ असोज, विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा १२ जनाको ज्यान जानेगरी जन्डिसको प्रकोप फैलिएको १२ वर्षपछि खानेपानी वितरण प्रणाली फेरिएको छ । २०७१ साल बैशाखमा विराटनगरको बजार क्षेत्रमा जन्डिसको प्रकोप फैलिएको थियो । त्यसको १२ वर्षपछि बजार क्षेत्रमा खानेपानीको पुरानो पाइपलाइन फेरिएको हो ।
वि.स. २०७१ साल वैशाखदेखि करिब ३ महिनाको अवधिमा २ हजार ५ सय भन्दा बढीमा जन्डिस देखिएको थियो । तीमध्ये १२ जनाको मृत्यु भएको थियो ।
अनुसन्धानका क्रममा खानेपानी दूषित भएकाले जन्डिस फैलिएको पत्ता लागेको थियो । त्यसपछि तत्कालीन सरकारका स्वास्थ्य मन्त्री खगराज अधिकारीले खानेपानीको पाइपलाइन परिवर्तन गर्ने बताएका थिए । तर, बजेट विनियोजन नहुँदा पाइपलाइन फेरिएको थिएन ।
तर १२ वर्षपछि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को अनुदान सहयोगमा मुख्य बजार क्षेत्रको पाइपलाइन फेरिएको हो ।
दशैंअघि नै नयाँ प्रणालीमार्फत पानी बाँड्ने तयारी
नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारका अनुसार जाइकाको सहयोगमा विराटनगरको खानेपानी सप्लाइ मात्रै सुधारिएको छैन, पानी वितरणको क्षमता पनि बढेको छ ।
उनका अनुसार संस्थानले बजार क्षेत्रमा करिब २ सय किलोमिटर पाइपलाइन बिछ्याएको छ । जाइकाको सहयोगमा मुख्य खण्डको ६६.५ किलोमिटर पाइपलाइन फेरिएको छ । पानी वितरणका लागि १२ वटा डिपवेल, ४ सेट पानी शुद्धीकरण पद्धति, एउटा ओभरहेड ट्यांकी पनि निर्माण भएको छ ।
जाइकाको करिब २ अर्ब ५४ करोड अनुदानमा सुरु भएको बृहत्तर खानेपानी परियोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । परियोजना सम्पन्न भएपछि विराटनगरमा दशैंअघि नै नयाँ प्रणालीमार्फत पानी वितरण गर्ने तयारी छ ।
खानेपानीको वितरणसँगै उत्पादन क्षमता पनि बढेका कारण दैनिक १ करोड लिटर पानी सहज रुपमा वितरण गर्न सकिने रौनियारले बताए । ‘हाम्रो जम्मा २०० किलोमिटरभन्दा बढी पाइपलाइन छ । त्यसमध्ये मुख्य–मुख्य बजार र बिग्रेका क्षेत्रहरू समेटेर लाइन फेर्ने काम गरिएको छ,’ उनले भने, ‘पहिला हाम्रो पानीमा क्लोरिन मात्र प्रयोग गरिन्थ्यो, अहिले हामीसँग ग्राभिटी स्यान्ड फिल्टर छ । त्यसबाट फिल्टरेसन गर्छौँ, क्लोरिनेसन गर्छौँ अनि मात्र सप्लाई गर्छौँ ।’ यसले पानीको गुणस्तर पहिलाको भन्दा धेरै राम्रो र सुरक्षित बनेको उनको भनाइ छ ।

पहिले दैनिक ८० देखि ८५ लाख लिटरसम्म पानी वितरण हुने गरेकोमा अब उत्पादन र वितरण क्षमता दैनिक १ करोड लिटरभन्दा माथि पुग्ने उनले जानकारी दिए ।
उनका अनुसार सबै प्राविधिक काम र आर्थिक आर्थिक दायित्व जाइकाकै थियो । परियोजनाको निर्माण अवधि सन् २०२६ अक्टोबरसम्म तोकिएको भए पनि अधिकांश काम निर्धारित समयअगावै सम्पन्न भएको उनले बताए । हाल विद्युत् जडानलगायत प्राविधिक काम मात्र बाँकी छ । ती काम सकेर दशैंअघि नै नयाँ प्रणाली सञ्चालनमा ल्याउने तयारी छ ।
१३ हजार २ सय घरमा खानेपानीको धारा जडान
पानी वितरणका लागि विराटनगरको देवकोटा चोक, तीनपैनी, मुनालपथमा ओभरहेड ट्यांकी छन् । विराटनगरको कोचाखाल पश्चिममा निर्माण गरिएको नयाँ संरचनामार्फत थप खानेपानी लाइन पनि विस्तार गरिनेछ ।
नेपाल खानेपानी संस्थानले १३ हजार २ सय घरमा खानेपानीको धारा जोडेको छ । परियोजना सञ्चालनमा आएपछि थप उपभोक्तालाई खानेपानीको पहुँचमा ल्याउन र बढिरहेको जनसंख्याको माग धान्न सहज हुनेछ ।
खानेपानी परियोजना सञ्चालनका लागि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले नियमित चासो राखेका थिए । मेयर कोइरालाले पनि परियोजना सफल बनाउन निकै मेहेनत गरेको बताए । ‘वडामा समस्या थियो । तर उहाँहरुलाई कन्भिन्स गराएर सडक खन्ने वातावरण मिलायौं,’ उनले भने, ‘सबै क्षेत्रसँग सहजीकरण गरेर परियोजना अगाडि बढाउने वातावरण निर्माण गरिएको थियो ।’
जाइकाको सहयोगमा खानेपानीको परियोजना सञ्चालनका लागि एशियाली विकास बैंकको सहयोगमा चार वर्षअघि मात्रै निर्माण गरिएको सडक संरचना पुन: खनिएको थियो । खानेपानीको पाइप बिछ्याएपछि खनिएको खण्ड कालोपत्रे गरिएको थियो । खानेपानीको पाइप वितरणका सडकको छेउमा खनेर पुन: कालोपत्रे गरिएको खण्ड सडकमा प्रष्ट देखिन्छ ।
प्रतिक्रिया 4