२० जेठ, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालनमा आएपछि स्थानीय उपभोक्ता लाभान्वित भएका छन् । गोर्खा वेलफेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको खानेपानी आयोजना सञ्चालनमा आएपछि सल्लेका ३१ घर मगर परिवार लाभान्वित भएका हुन् ।
सुक्खाग्रस्त क्षेत्रमा पर्ने सल्लेमा सञ्चालित लिफ्टिङ प्रविधिको खानेपानी आयोजनाको कुल लागत ५३ लाख रुपैयाँ रहेको जनाइएको छ । जसमध्ये गोर्खा वेलफेयर ट्रष्टले ४६ लाख रुपैयाँ तथा स्थानीय उपभोक्ताले सात लाख बराबरको श्रमदान तथा नगद सहभागिता रहेको वडाध्यक्ष काशीराज राईले जानकारी दिए ।
स्थानीय ठूलो पँधेरो मुहानबाट लिफ्टिङ प्रविधिमार्फत तानेर निकालिएको पानी वस्तीमा वितरण गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।
वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका सल्लेका ३१ घर स्थानीय मगर परिवारले अब आफ्नै घरआँगनमा स्वच्छ खानेपानी पाउन थालेका छन् ।
लिफ्टिङ प्रविधिको खानेपानी योजना निर्माण सुरु गरेको ७२ दिनभित्र सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गरिएको गोर्खा वेलफेयर सोसाइटी धरानका सिनियर अफिसर केदार राईले जानकारी दिए ।
खानेपानी आयोजनाअन्तर्गत २६ घरमा निजी र दुईवटा सार्वजनिक धाराहरू जडान गरिएका छन् ।
लिफ्टिङ प्रविधिको खानेपानी योजना सञ्चालनमा आएपछि दैनिक उपभोगका लागि टाढा–टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता अन्त्य भएको स्थानीयवासीले बताएका छन् । –रासस
प्रतिक्रिया 4