+
+
Shares

वासिङ्टनमा शान्तिवार्ता, खाडीमा मिसाइल र ड्रोनको वर्षा

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका समाचारअनुसार दुवै पक्ष यो युद्ध अन्त्य गर्न खोजिरहेका देखिन्छन् । तर, यो सम्झौता सफल हुनेमा भने अझै सन्देह छ ।

कञ्चन कञ्चन
२०८३ जेठ २० गते २०:१०

२० जेठ, काठमाडौं ।  पछिल्ला दुई दिनयता लेबनान र इजरायलका प्रतिनिधिहरू बीच वासिङ्टन डीसीस्थित अमेरिकी विदेश मन्त्रालयमा वार्ता भइरहेको छ । इजरायल र लेबनानबीच जारी युद्धलाई विराम लगाउने उद्देश्यले यो वार्ता भइरहेको हो ।

लेबनानी वार्ताकारहरूले यस वार्ताले आफ्नो देशमा भइरहेको आक्रमणको अन्त्य गर्ने आशा राखेका छन् ।

पछिल्लो समय इजरायलले लेबनानमाथिको सन् २००० यताकै तीव्र आक्रमण गरिरहेको छ । हिजबुल्लाहले पनि इजरायलमाथि आक्रमण जारी राखेको छ । लेबनानी स्रोतका अनुसार, मार्च २ यता मात्रै इजरायली आक्रमणबाट लेबनानमा ३ हजार ४६८ जनाको ज्यान गइसकेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका समाचारअनुसार दुवै पक्ष यो युद्ध अन्त्य गर्न खोजिरहेका देखिन्छन् । तर, यो सम्झौता सफल हुनेमा भने अझै सन्देह छ ।

पछिल्लो वार्ता चलिरहँदा पनि इजरायलले लेबनानमा आक्रमण गरिरहेको थियो । जसले वार्ता सफल नहुने शंकालाई मलजल गरेको छ ।

सन् २०२४ मा अमेरिका र फ्रान्सको मध्यस्थतामा इजरायल र लेबनानबीच वार्ता भएको थियो । २७ नोभेम्बरमा ६० दिनको युद्धविराम सम्झौता पनि भयो ।

सम्झौताअनुसार इजरायली सेना दक्षिणी लेबनानबाट हट्नुपर्ने र हिजबुल्लाह लिटानी नदी उत्तर पुग्नुपर्ने सर्त थियो । तर, सन् २०२६ मा हिजबुल्लाहको पुन: आक्रमण र इजरायलको कडा जवाफी कारबाहीका कारण यो सम्झौता पूर्ण रूपमा भत्कियो ।

यसअघि पनि यस्ता वार्ता भएका थिए । जुन असफल हुँदैआइरहेका छन् ।

इजरायल र लेबनानका सर्त

लेबनान सरकार पूर्ण रूपमा युद्धविरामको कोसिसमा छ । तर, वार्ता सुरु भइरहँदा उसको भूमिमा इजरायली सेनाले मिसाइल र ड्रोन खसालीरहेको छ ।

इजरायलले लेबनानको सरकारबाट हिजबुल्लाहलाई नि:शस्त्र पार्ने विश्वस्त आधार खोजिरहेको छ ।

लेबनान त्यसमा सहमत छ । तर, त्यसअघि आफ्नो दक्षिणी भूभागबाट इजरायली सेनालाई फिर्ता गराउन प्रयास गरिरहेको छ । सेना फिर्ता भए १२ लाख भन्दा बढी विस्थापित मानिस आफ्नो घर फर्कन पाउने उसको बुझाइ छ ।

त्यसपछि मात्र हिजबुल्लाहलाई नि:शस्त्रीकरण गर्ने र इजरायली आक्रमणबाट ध्वस्त भएका क्षेत्रहरूको पुनर्निर्माण गर्ने बाटो खोज्न सुरु गर्नसक्ने लेबनानको भनाइ छ ।

यसअघि अप्रिल महिनामा अमेरिकाका लागि इजरायल र लेबनानका राजदूतहरूबीच प्रारम्भिक भेटवार्ता भएको थियो । त्यसपछि मे महिनामा दुवै पक्षका ठूला प्रतिनिधिमण्डल सम्मिलित दोस्रो चरणको वार्ता भएको थियो ।

पछिल्लो समय शुक्रबार मात्रै लेबनानी र इजरायली सैन्य प्रतिनिधिहरू बीच एउटा बैठक भएको थियो ।

यी भेटवार्ताहरू लेबनानको सरकार र इजरायलबीच भइरहेको छ । इजरायलसँग युद्ध लडिरहेको इरान समर्थित हिजबुल्लाहको भने सहभागिता छैन ।

इजरायलकै भनाइ अनुसार हिजबुल्लाह नि:शस्त्र भएको हेर्न चाहने कुरामा दुवै पक्षबीच साझा सहमति बनिसकेको छ । केही इजरायली अधिकारीहरूले चाँडै नै दुई देशबीच व्यापार सम्झौता र पर्यटकहरूको आदानप्रदान हुनसक्ने सम्भावना पनि औँल्याएका छन् ।

तर, लेबनानले भने दुई देशबीच सन् १९४९ मा भएको युद्धविराम सम्झौता (आर्मिस्टिस एग्रिमेन्ट) को नजिक रहेर सहमति खोज्न चाहेको बताएको छ ।

लेबनानले पछिल्लो वार्तामा सन् २०२४ को युद्धविराम सम्झौतापछि भएका इजरायली हमलाबाट भएको क्षतिको विवरण नै प्रस्तुत गरेको छ । लेबनानले इजरायलद्वारा ध्वस्त पारिएका वा भत्काइएका घरहरू स्पष्ट देखिने विस्तृत नक्सा नै वार्तामा राखेको छ ।

इरानसँग जोडिएको द्वन्द्व

इजरायल र लेबनानको यो द्वन्द्वलाई अमेरिका–इरान द्वन्द्वबाट हटाएर भने हेर्न सकिँदैन ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलको सैन्य हमलामा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएका थिए । खामेनीको हत्या भएको दुई दिनपछि नै हिजबुल्लाहले युद्धविराम भंग गरेर इजरायलतर्फ छ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

हिजबुल्लालाई इरानको सबैभन्दा बलियो ‘प्रोक्सी’ नै मानिन्छ । हिजबुल्लाहको त्यो हमलापछि इजरायलले फेरि लेबनानमाथि हमला थालेको थियो । इजरायली सेना दक्षिणी लेबनानमा आफैँले बनाएको बफर जोन लिटानी नदी पार गरेर जाहरानी नदीतर्फ अघि बढेको थियो ।

उता इरानले अमेरिकासँगको पछिल्लो वार्ताहरूमा लेबनानको विषयलाई आफ्नो सर्तकै रूपमा अघि सार्दैआएको छ ।

इरान पनि चुप छैन

उता इजरायल र लेबनानबीच वासिङ्टनमा वार्ता चलिरहँदा इरानले कुवेत र बहराइनलाई लक्षित गरी गरेको ड्रोन तथा मिसाइल आक्रमण गरेको छ । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी)ले मंगलबार रातभर खाडी क्षेत्रमा आक्रमण गरेको समाचार छन् ।

उक्त आक्रमणमा कुवेतमा एकजनाको ज्यान गएको छ भने सयौं घाइते भएका समाचारमा आएका छन् ।

जसको प्रतिकारमा अमेरिकी सेनाले केसमु टापु (केसम आइल्यान्ड) मा रहेको आईआरजीसीको सञ्चार टावरमा हमला गरेको छ ।

उता आईआरजीसीको हमलाको यूएई, साउदी अरब, कतार, ओमान र जोर्डनजस्ता देशले कडा शब्दमा निन्दा गरेका छन् । यूएईले कुवेतमाथि भएको हमलालाई ‘आतंकवादी कार्य’ को संज्ञा दिएको छ ।

लेखक
कञ्चन

कञ्चन अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?