Comments Add Comment

भरतपुर अस्पतालका मेसु तिवारीको क्लोज कन्ट्याक्टमा सांसददेखि सीडीओसम्म

स्वाब दिएपछि बैठक राखेका थिए मेसु तिवारीले

मेसु डा. श्रीराम तिवारी

३२ साउन, चितवन । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्टसहित तीनजना अस्पतालका चिकित्सक र नर्सलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्लामा त्रास फैलिएको छ । यही गतिमा स्वास्थ्यकर्मी धमाधम संक्रमित भएमा बिरामीले उपचारमा समेत समस्या हुने आंशका गर्न थालिएको छ ।

भरतपुर अस्पताल, भरतपुर कोभिड-१९ ल्यावको समेत जिम्मेवारी हेर्दै आएका अस्पतालका मेसु डा. तिवारी आफैं संक्रमित भएर अस्पतालको पुरानो क्याविनमा बसेका छन् ।

बिहीबार स्वाबको नमुना दिएका मेसु डा. तिवारीले शुक्रबार साउन ३० गते अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीको आग्रहमा कोभिड संक्रमितको उपचार र व्यवस्थापनका विषयमा छलफल गर्न भन्दै अस्पतालमा नै बैठक राखेका थिए ।

बैठकमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रदेश सभाका सांसद मिलनबाबु श्रेष्ठ, विजय सुवेदी, घनश्याम दाहाल, जिल्ला समन्वय समितिका प्रमुख कृष्ण डल्लाकोटी सहभागी थिए ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टीका जिल्ला अध्यक्ष यमबहादुर परियार, कांग्रेस चितवन सभापति जितनारायण श्रेष्ठ, समाजवादी दलका जिल्ला अध्यक्ष प्रेम भुजेल, चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपाने, पुरानो मेडिकल कलेजका निर्देशक डा. मनोहर प्रधान, चिकित्सक संघका अध्यक्ष डा. लोकबहादुर सेढाई, सचिव डा. सूर्यप्रकाश सापकोटा, डा. प्रकाश खतिवडा, भरतपुर अस्पतालका कोभिड संयोजक डा.प्रमोद पौडेल, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक सुवेदी, अस्पताल विकास समितिका सदस्य रमा घिमिरे र केशव देवकोटा, निजी अस्पताल सञ्चालक समितिका सचिव विक्रम अधिकारीसमेत बैठकमा थिए ।

सरकारले स्वाब दिएपछि रिपोर्ट नआइञ्जेल आइसोलेसनमा बस्न अनुरोध गर्दै आएको भए पनि त्यसको पालना स्वयं अस्पतालकै चिकित्सकबाट भएको देखिएन । बैठकमा सहभागी प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले एक सातामा परीक्षणका लागि स्वाब दिइने बताए ।

बैठकमा सहभागी कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले मेसुमा संक्रमण पुष्टि भएपछि होम क्वारेन्टिनमा बसेको बताए ।

स्थानीय प्रशासनले चितवनका अस्पतालहरुलाई कोरोना संक्रमणको उच्च जोखिम क्षेत्रका रूपमा राख्दै आएको छ । शुरूमा क्वारेन्टिनमा मात्रै देखिएको संक्रमण हिजोआज अस्पतालमा देखिन थालेको छ । पछिल्लो समयमा देखिएका अधिकांश संक्रमित स्वास्थ्य जाँचका लागि अस्पताल पुगेकाहरू छन् ।

भरतपुर अस्पतालमा कोरोना संक्रमित र संक्रमित नभएका बिरामीहरुको मिसमास भएको आशंका गरिएको छ ।

प्रसूति सेवा प्रभावित बन्न सक्ने

राजधानी काठमाडौंको परोपकार प्रसूति गृह थापाथलीपछि सबैभन्दा बढी भरतपुर अस्पतालमा सुत्केरी हुने गरेको तथ्यांक छ । तर, भरतपुर अस्पताल प्रसूति विभागका प्रमुख प्रा.डा. सुनिलमणि पोखरेललाई नै कोरोना संक्रमण पुष्टि भएपछि सेवा प्रभावित हुने अनुमान छ ।

प्रा.डा. पोखरेलले हेरेका बिरामीहरुको कन्ट्याक्ट ट्रेसिङदेखि स्वाब संकलन गर्नुपर्ने अवस्था छ । अस्पतालमा दैनिक ३० देखि ४० जनासम्म महिलाहरुले प्रसूति सेवा लिँदै आएका थिए ।

डा. पोखरेलले गत बिहीबार विहानबाट बिरामी नहेरेको बताएका छन् । उनको सोही दिन स्वाब संकलन गरिएको थियो । उनलाई हल्का ज्वरो र खोकीसमेत छ । डा. पोखरेलको अनुपस्थितिमा डा. निर्मलालक्ष्मी श्रेष्ठ, डा. सजन केसी, डा. रामप्रसाद सापकोटाको टोलीले प्रसूति सेवा कसरी सुरक्षित तरिकाले दिने भन्ने बारेमा छलफल थालिएको डा. जीवन परियारले जानकारी दिए ।

सो विभागमा रेजिडेन्ट चार, तालिममा आएका ६ सहित २३ जना चिकित्सक र झण्डै ४० जना नर्सहरु कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment