१४ असार, चितवन । देशभरका संघीय अस्पतालहरु मध्ये भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (MSS) मा उत्कृष्ट बन्न सफल भएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै संघीय अस्पतालहरु मध्ये ८९ अंकसहित उत्कृष्ट बन्न सफल भएको छ ।
भरतपुर अस्पतालले गत वर्ष ८८ नम्बर पाएकोमा यसपटक १ नम्बर थपेर ८९ अङ्क प्राप्त गर्दै ग्रिन जोनमा यथावत रहिरहन सफल भएको हो । भरतपुर अस्पताल प्रथम हुँदा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ७७ अंकसहित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ७१ अंकसहित तेस्रो भएका छन् ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. विश्वबन्धु बगालेले अघिल्लो आर्थिक बर्षभन्दा चालु आर्थिक बर्षमा अस्पतालले अझै राम्रो गरेको बताए । बिरामीले पाउने सेवा सुविधा, अस्पतालमा उपलब्ध उपकरण, डिउटी रोष्टर, सरसफाई, औषधि, जनशक्तिको अवस्था सबै कुरालाई अस्पतालले अपडेट गर्दै गएको उनको भनाइ छ ।
चिकित्सक, नर्स तथा अस्पतालका कर्मचारीहरुको सकारात्मक सोच र केही गरौं भन्ने अभिप्रायका कारण पनि अस्पतालले गति लिन सकेको मेसु डा. बगाले बताउँछन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका तर्फबाट संयोजक बनेका डा. श्रीराम तिवारीले भरतपुर अस्पतालका देशभरका १४ वटा संघीय जनरल अस्पतालमा सेवा प्रवाहमा राम्रो रहेको बताए । मन्त्रालयले अस्पतालको सेवा गुणस्तर मापनका लागि १४ सय ९७ विभिन्न सूचकहरु बनाएको बताए ।
सूचकहरुका आधारमा कुनै कुराको अभाव वा अपुग छ भने त्यसमा पुर्याउनका लागि बजेट विनियोजनमा मन्त्रालयले सहयोग गर्ने डा. तिवारी बताउँछन् । ‘पहिला भरतपुर अस्पताल एमआरआइ, क्याथ ल्याव थिएन, सूचकमा नभएको देखियो, पछि मन्त्रालयले बजेट दियो’, डा. तिवारी भन्छन् ‘अस्पतालले आफ्नो प्रयासले गर्नुपर्ने काम नगरेको भए गर्न भन्छौं, बिरामी जनशक्तिको अनुपात मिलाउन लगाउँछौं, ग्यापलाई पुरा गर्न केन्द्र सरकारले गर्नुपर्ने भए बजेट, कार्यक्रममा राख्छौं ।’
भरतपुर अस्पतालले अधिकांश सूचकहरु पुरा गरेकोले उत्कृष्ट बनेको डा. तिवारीले बताए । सामाजिक परीक्षण, अस्पताल विकास समितिको सक्रियता अझै आवश्यक देखिएको उनको भनाइ छ ।
६ सय शैय्याको भरतपुर अस्पतालमा दैनिक २५ सयदेखि ३ हजारसम्म बहिरंग सेवाका लागि बिरामी आउने गर्दछन् । अस्पतालले १४ वटा सुपरस्पेसलिष्ट कार्यक्रम चलाएको अस्पतालका मेसु डा. बगालले जानकारी दिए ।
प्रतिक्रिया 4