 
																			३२ साउन, पोखरा । लकडाउन खुलेर बजारमा चहलपहल बढेसँगै पेट्रोल पम्समा इन्धन भर्नेको लर्को पुरानै अवस्थामा फर्किएको छ । कोरोना संक्रमण फैलिइरहेका बेला पेट्रोल पम्पमा हुने भीडभाडले भने व्यवसायीलाई झस्काउन थालेको छ ।
गण्डकी प्रदेशका पेट्रोलियम व्यवसायी पेट्रोल पम्पबाट कोरोना संक्रमण फैलिन सक्ने भन्दै सचेत हुन थालेका छन् । कोरोना संक्रमण फैलिन सक्ने भन्दै सशंकित व्यवसायीले उपभोक्तालाई भनेका छन्, ‘बरु चाहिए जति लैजानुस् । तर पटक पटक नआउनुस् ।’
‘एकातिर कोरोना संक्रमण समुदायस्तरमा सरिरहेको छ । अर्कोतिर बजारमा चहलपहल बढेसँगै पेट्रोल पम्पहरुमा भीडभीड बढी हुन थालेको छ,’ गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसन पोखराका अध्यक्ष राजन गोंगजुले भने, ‘पेट्रोल पम्प नआउनुस् भन्न सक्दैनौं । सावधानीपूर्वक र सुरक्षित भएर आउनुस् तर पटक पटक नआउनुस्, बरु चाहिए जति लैजानुस् ।’
गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसन अन्तर्गत तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी गरी ६ जिल्लाका ५८ पेट्रोल पम्प आवद्ध छन् । त्यहाँ दिनमा १२ सय जना इन्धन भर्न पुग्ने गरेका छन् ।
पेट्रोल पम्पमार्फत एकै दिनमा सयौंमा कोरोना सर्न सक्ने जोखिम रहेको उनले बताए । पेट्रोल पम्पमा लाग्ने भीडले धेरै त्रास बढाएको उपमहासचिव मोहन सुवेदीको भनाइ छ ।
‘अत्यावश्यक पदार्थ भएकाले व्यवसायीले चाहेर पनि बन्द गरेर बस्ने छुट छैन । त्योसँगै व्यवसायमा दैनिक हजारौं उपभोक्ताको सम्पर्क रहने हुँदा यो उच्च जोखिममा रहेको उपभोक्ताहरुले बुझ्नु जरुरी छ,’ सुवेदीले भने, ‘पेट्रोलियम पदार्थको सञ्चय गर्दै थोरैभन्दा थोरै अथवा अति आवश्यकतामा मात्रै पेट्रोल पम्प जाने वातावरण मिलाउनुपर्छ ।’
पेट्रोल पम्पमा मोटरसाइकल तथा स्कुटरको भीड बढी लाग्छ । भीडभाड कम गर्न एक पटकमा स्कुटरमा न्यूनतम ३ सय र मोटरसाइकल ५ सय रुपैयाँको पेट्रोल भर्न एसोसिएसनले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
एसोसिएसनले पेट्रोल पम्पहरुमा मास्क नलगाई गए इन्धन भर्न नपाउने बताएको छ । त्यस्तै खुद्रा रकम वा मोबाइल बैंकिङबाट भुक्तानी गर्न पनि अनुरोध गरेको पश्चिमाञ्चल आयल स्टोर्सका सञ्चालक बाबुराम जमरकट्टेलल बताए ।
हालसम्म गण्डकीमा पेट्रोल पम्पबाट कोरोना फैलिएको पुष्टि भएको छैन । तर दिनहुँ सयौं सम्पर्कमा आउने हुँदा आफैं सचेत हुनुको विकल्प नभएको एसोसिएसनका कोषाध्यक्ष नवराज थापाले बताए । उनले पेट्रोल पम्पमा आइसकेपछि भीड नियन्त्रण गर्न गाह्रो हुने र सुरक्षा अपनाउनुस् भन्दा झगडा हुने गरेको पनि बताए ।
एसोसिएसनले इन्धन भर्न एउटा सवारी साधनमा एक जनामात्र आउन अनुरोध गरेको छ । पेट्रोल पम्पहरुको जोखिमबारे सम्बन्धित निकायलाई जानकारी गराइसकिएको तर उपभोक्ताले विचार पु¥याउनु पर्ने अध्यक्ष गोंगजुको भनाइ छ ।
गण्डकी प्रदेशमा इन्धनको अभाव नभएकाआयल निगमको गण्डकी प्रादेशिक कार्यालय पोखरा गगनगौंडा डिपो प्रमुख पुष्कर कार्कीले बताए । ‘उपभोक्ताले जति पनि इन्धन पाउँछन् तर कोरोना कोभिड–१९ को जोखिम भएकाले सचेत रहनुपर्ने अवस्था छ,’ कार्कीले भने ।
आयल निगमले पनि जोखिमलाई मध्यनजर गर्दै आधा कर्मचारीलाई आलोपालो प्रणालीमा काममा आउने व्यवस्था मिलाएको छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4