Comments Add Comment

वीरगञ्जमा मृत्यु भएका रौतहटका युवकमा कोरोना पुष्टि

३२ साउन, वीरगञ्ज । वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटबाट उपचारका लागि वीरगञ्ज ल्याइएका गौर नगरपालिकाका ३२ वर्षीय युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

युवकलाई अचानक श्वासप्रश्वासमा समस्या आएपछि शनिबार एम्बुलेन्सबाट नारायणी अस्पतालमा ल्याइएको थियो । अपरान्ह ४ बजे अस्पताल ल्याएका उनको उपचारको क्रममा बेलुकी ८ बजेतिर मृत्यु भएको थियो ।

क्षयरोगका बिरामी ती युवकले नियमित खानुपर्ने क्षयरोगको औषधी समेत सेवन गर्न छोडेको पाइएको अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए ।

‘पहिलेदेखि नै क्षयरोगका बिरामी, नियमित खानुपर्ने औषधी छोडेका रहेछन्’ उनले भने ‘श्वासप्रश्वासमा समस्या आएर सिकिस्त अवस्थामा अस्पताल ल्याइएको थियो, चिकित्सक स्वास्थ्यकर्मीहरुले उपचार शुरु गरे । तर बचाउन सकिएन ।’

यसअघि पनि वीरगञ्जमा उपचारको क्रममा रौतहटका एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो । यो सँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ । साउनमा मात्रै २४ जनाको मृत्यु भएको छ ।

पर्साका २० जना, बाराका ५ जना र रौतहटका २ जना पुगेका छन् । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको वेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment