Comments Add Comment
बिराटनगरमा कोरोना :

गोदाममै थन्कियो भेन्टिलेटर, घरमै मर्न थाले संक्रमित

महानगरपालिकामा १७ दिनमा ४६९ संक्रमित थपिए

३२ साउन, बिराटनगर । प्रदेश १ को राजधानी रहेको बिराटनगर महानगरपालिका-३ निवासी ८७ वर्षीया बृद्धाको शनिबार राति निधन भयो । उनका ५६ वर्षका छोरा कोरोना संक्रमण पुष्टि भएर माडवारी सेवा सदनको आइसोलेनमा छन् । बुहारी र नाति घरैमा छन् ।

सासूको मृत्यु भएपछि बुहारीले छिमेकी र आफन्तसँग हारगुहार गरिन् । तर, कोही आएनन् । त्यहीबेला सासूको शव कुरेर बसेकी बुहारीलाई पनि कोरोना संक्रमण भएको खबर आयो । ‘छोरा आइसोलेनसमा छ, बुहारीलाई पनि कोरोना भयो । त्यहीबेला प्राण त्यागेकी बृद्धाले शव उठाउन कोही आएनन्’ महानगरका जनस्वास्थ्य प्रमुख रमेश कार्की भन्छन्, ‘बिराटनगरमा कसैको मृत्यु भइहाल्यो भने पनि शव व्यवस्थापन गर्न गाह्रो हुने अवस्था आइसक्यो ।’

स्थानीय अधिकारीहरुका अनुसार बृद्धाको हालै गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । तैपनि छिमेकी तथा विहानीपख पुगेका आफन्त शव व्यवस्थापन गर्न तयार भएनन् र, नेपाली सेनालाई जिम्मा दिइएको छ ।

बिराटनगरमा यो अवस्था त्यसै आएको भने होइन, कोरोना संक्रमण भुसको ओगोझंै फैलिएको छ । हरेक दिन संक्रमितको संख्या बढ्दो छ, आइतबार मात्र ८६ जना थपिएका छन् ।

पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

त्यो अब्बल व्यवस्थापन

साउन ७ गतेसम्म देशमा कुल संक्रमितको सख्ंया १८ हजार नाघ्दा बिराटनगर महानगरका ३३ मात्र थिए । त्यसो हुनुको पछाडि भारतबाट आएका नागरिकहरुको अब्बल व्यवस्थापन भएको स्थानीय तहका अधिकारीहरु बताउँछन् ।

उनीहरुका अनुसार महानगरका १९ वटै वडामा २०/२० वटा टोल समिति बनाइएको थियो । हरेक समितिलाई निगरानी गर्नुपर्ने घरहरु तोकिएको थियो । कोही नयाँ मानिस देखिए टोली समितिका सदस्यहरुले तत्काल वडाध्यक्षलाई खबर गर्थे । उनीहरुलाई सम्झाई बुझाई आइसोलेसनमा राखिन्थ्यो ।

महानगरका जनस्वास्थ्य प्रमुख कार्की दाबीका साथ भन्छन्, ‘आइसोलेसन सेन्टर यति व्यवस्थित बनाएका थियौं कि त्यहाँ एकबाट अर्कोलाई संक्रमण सर्न पाएन ।’ महाननगर आफैंले गाइडलाइनहरु बनाएर त्यसको पालना गराएको थियो ।

लकडाउन हटेसँगै बढ्यो संक्रमण

जब सरकारले ६ साउनमा ‘लकडाउन अन्त्य’को घोषणा गर्‍यो, अन्यत्र जस्तै बिराटनगरमा पनि चहल-पहल बढ्यो । मानिसहरुले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न छाडे । आसपासका ठाउँका साथै भारतबाट पनि मानिसहरु लुकिछिपी प्रवेश गर्न थाले । ‘नेपालमा कोरोना नै छैन भने जसरी मानिसहरुले गतिविधि गर्न थाले’ महानगरका जनस्वास्थ्य प्रमुख कार्की भन्छन्, ‘सरकारले बनाएको प्रोटोकलहरु त कागजमा मात्र सीमित हुन पुग्यो ।’

नागरिक, स्थानीय प्रशासन सबै चुके, जसको परिणाम अहिले बिराटनगरको भोगिरहेको छ ।

हरेक दिन नयाँ संक्रमितका संख्या बढ्दो छ । फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, प्रहरी, सञ्चारकर्मी मात्र होइन, ट्राभल हिस्ट्री नभएकाहरुमा संक्रमण देखिएको छ । र, ७ साउनयता मात्र ५३३ जना संक्रमित थपिएका छन् ।

समुदायमा संक्रमण देखिएको भन्दै महानगरले १६ साउनबाट लकडाउन गरिएको छ । तर, मास्क लगाउनेहरु बढे पनि स्वास्थ्य सुरक्षाका अरु मापदण्ड पालना भएको छैन । त्यही कारण संक्रमणको बढ्दो गतिलाई पनि रोक्न सकिएको छैन ।

१० दिन ७ जनाको मृत्यु

संघीय सरकारले त बिराटनगरमा मात्र होइन, वीरगञ्जमा पनि समुदायमा संक्रमण गएको स्वीकार गरेको छैन । क्लास्टर वा समूहमा मात्र संक्रमण भएको बताएको छ ।

तर, बिराटनगरका जनस्वास्थ्य अधिकारीहरु भने समुदायमा संक्रमण पुगिसकेको बताउँछन् । पछिल्लो १० दिनमा भएको ७ जनाको मृत्यु पनि त्यही संकेत गर्छ ।

बिराटनगरमा कोरोना संक्रमणबाट पहिलो मृत्यु १९ साउनमा भएको थियो । बिराटनगर- ५ का ७७ वर्षीय वृद्धको मृत्युपछि कोरोना पोजेटिभ देखिएको थियो । त्यसको दुई दिनपछि बिराटनगर-९ का ४५ वर्षीय पुरुषको कोशी अस्पतालमा मृत्यु भयो । उनको पनि मृत्युपछि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ रिपोर्ट आयो ।

२३ साउनमा बिराटनगर-९ का ४५ वर्षीय पुरुष, भोलिपल्ट विनरानगर-१० का ६८ वर्षीय पुरुषको मृत्यु भयो ।

२८ साउनमा बिराटनगर-३ का ५८ वर्षीय पुरुषको मृत्यु भयो । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उनको अक्सिजन अभावमा मृत्यु भएको थियो । २९ साउनमा बिराटनगर- १५ का ३० वषर्ीय युवकको मृत्यु भएको थियो भने ३२ साउनमा बिराटनगर तीनपैनी चोककी ५० वर्षकी महिलाको मृत्यु भयो ।

पछिल्लो समय भेटिएका संक्रमितमध्ये आधाभन्दा बढीमा लक्षण छ, तर आइसोलेसन बेड अभाव छ । बिराटनगरमा लेभल-१ को कोभिड हब अस्पताल छैन भने भएको कोभिड-१९ उपचार केन्द्रमा अक्सिजन र भेन्टिलेटर छैन ।

संक्रमितलाई समस्या देखिए वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रिफर गर्नुपर्ने बाध्यता छ । धरानमा पनि क्षमता सीमित भएका कारण बिराटनगरबाट पठाएका बिरामी भर्ना गर्न आनाकानी गर्दै आएको छ । समयमा उपचार नपाएका कारण बिराटनगरका चारजनाको कोशी अस्पतालमा मृत्यु भइसकेको छ । संक्रमण बढ्दै गएकाले जोगिनका लागि व्यक्ति आफैं सतर्क हुनुपर्ने जनस्वास्थ्य विज्ञ डाक्टर नवराज सुब्बा बताउँछन् ।

तर, कोरोना संक्रमण अझ बढ्ने आकलन छ । ‘महामारी उच्च बिन्दुमा पुगेर विस्तारै कम हुँदै जान्छ’ स्वास्थ्य महाशाखा प्रमुख कार्की भन्छन्, ‘अहिले संक्रमण बढ्दो छ ।’ समुदायमा संक्रमण फैलिएको र ट्राभल हिस्ट्री नभएपछि संक्रमण पुष्टि भएकाहरुको कन्ट्याक ट्रेसिङ पनि कठिन बन्दै गएको छ ।

पीसीआर परीक्षण पनि अपेक्षाकृतरुपमा हुन सकेको छैन । दैनिक पाँचसयको कोरोना जाँच गर्ने योजना बनाए पनि मेसिनको क्षमता कम भएका कारण दैनिक दुईसय हाराहारी मात्र परीक्षण हुने गरेको बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए ।

संघ र प्रदेशको सहयोग न्यून

मेयर भीम पराजुली कोरोना संक्रमण रोक्न संघ र प्रदेश सरकारले सहयोग नगरेको गुनासो गर्छन् । शंकास्पदको स्वाब संकलन गरी परीक्षण, संक्रमितको व्यवस्थापन र कन्ट्याक ट्रेसिङमा आवश्यक सहयोग नपाएको बताउँछन् ।

मेयर पराजुलीको भनाइ उनकै शब्दमा-

ट्राभल हिस्ट्री नभएका संक्रमित भेटिन थालेपछि हामीले ११ साउनमा समुदायमा पुगेकेा निष्कर्ष निकाल्यौं । संक्रमण फैलन नदिने पहिलो माध्यय लकडाउन हो । नगरस्तरीय कोभिड संकट व्यवस्थापन सेन्टरको बैठक बसेर लकडाउन गर्नुपर्ने निष्कर्ष निकाल्यौं । हामीसँग अधिकार थिएन, त्यसैले जिल्लास्तरीय समितिको बैठकमा लकडाउन गरौं भन्दा मान्नु भएन । प्रदेश सरकार पनि तत्काल नगरौं भन्ने पक्षमा देखियो ।

तर विराटनगरको अवस्था विश्लेषण गरेर मैले जोडबल गरिरहे । सामाजिक विकासमन्त्री जीवन घिमिरेसँग छलफल गरेर बल्ल १६ साउनबाट लकडाउन गर्ने निर्णय गर्याैं । लकडाउन पछि स्थिति धेरै हदसम्म कन्ट्रोलमा आएको छ । यदि लकडाउन नगरिएको थियो भने अहिलको अवस्था अर्कै हुने थियो । तर संक्रमितको व्यवस्थापनमा समस्या छ । अस्पतालमा भेन्टिलेटर छैन, संक्रमितहरु घरमै मर्न थालिसके ।

हामी सबैले आ-आफ्नो दाहित्व अनुसार काम नगर्दा आइसोलेसन थपिएन । ५ जेठमा प्रदेश सरकारले दुई सय बेड थप गर्ने निर्णय गरेको थियो, अझै थपिएको छैन । त्यसैले प्रदेश सरकार र संघसँग विनम्र अनुरोध छ, भेन्टिलेटर जोडिदेऊ, जनतालाई त्यसै मर्न नदेऊ । भेण्टिलेर जडानमा हामी गर्नुपर्ने सहयोग गर्न तयार छौं ।

कोभिड अस्पतालमै थन्कियो भेन्टिलेटर

नेपालमा १० चैतमा दोस्रो संक्रमित भेटिए लगतै प्रदेश १ सरकारले कोशी अस्पतालमा कोभिड-१९ उपचार केन्द्र बनाएको थियो । चैत तेस्रो साताबाट सञ्चालनमा आएको यो उपचार केन्द्रमा २४५ जना संक्रमित भर्ना भए, र निको भए । हाल त्यहाँ उपचाररत ५४ जना संक्रमितमध्ये अधिकांशको अवस्था सामान्य छ ।

जब गम्भीर समस्या भएका संक्रमित आएनन्, प्रदेश सरकारले आईसीयू र भेन्टिलेटर जडान गर्ने आफ्नै प्रतिवद्धता विर्सियो । गोल्डेन अस्पताल र न्यूरो अस्पतालबाट सापटीमा लिएको दुईवटा र दाताले उपलब्ध गराएको चारवटा मेसिन गोदाममा थन्किएको छ । संक्रमितलाई भने अक्सिजन दिन समस्या भएको छ ।

आईसीयू सञ्चालनका लागि दक्ष जनशक्तिको पनि अभव रहेको कोशी अस्पतालका मेसु चुमनलाल दासले बताए । ‘हाम्रो योजना चाँडोभन्दा चाँडो आईसीयू सुरु गर्ने हो, तर हामीसँग जनशक्ति छैन’ उनले भने, ‘जनशक्ति नहुँदा गाह्रो हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment