Comments Add Comment

देशभरिका आधाभन्दा बढी जिल्लामा निषेधाज्ञा

३२ साउन, काठमाडौं । सरकारले नोवल कोरोना भाइरस (कोभिड-१९) कारण ११ चैतदेखि लगाएको लकडाउन ६ साउनमा अन्त्य गर्‍यो । तर, १२० दिने लकडाउन हटाउने निर्णय गरेको ५ साउनको त्यही मन्त्रिपरिषद् बैठकले संक्रामक रोग निर्मूल गर्न वा सो रोग रोकथाम गर्नका लागि आवश्यक व्यवस्था मिलाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिने निर्णय गर्‍यो ।

सरकारले दिएको त्यही अधिकार प्रयोग गरेर ४० वटा जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले आंशिक तथा जिल्लाभरि निषेधाज्ञा वा सिल गर्ने निर्देशन दिएको छ । देशभरि कोभिड-१९ संक्रमितको संख्या बढ्दै गएपछि जिप्रका र स्थानीय सरकारहरूले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिरहेका छन् ।

२० साउनमा जिप्रका, सप्तरीबाट सुरुभएको निषेधाज्ञा ३२ साउनमा गोरखा पुगेको छ । अधिकांश जिप्रकाले निषेधाज्ञाको अवधि तोकेका छन् भने केहीले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेका छन् ।

सप्तरी, धनुषा, नुवाकोट, बाँके, महोत्तरी, सुनसरी, सर्लाही, स्याङ्जा, सिरहा, बर्दिया, बझाङ, मोरङ, दार्चुला, झापा, कञ्चनपुर, काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, रुपन्देही, कैलाली, मकवानपुर, कपिलवस्तु, धादिङ, रुकुम पश्चिम, धनकुटा, तनहुँ, उदयपुर, सुर्खेत, चितवन, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, बाग्लुङ र गोरखा जिप्रकाले अवधि तोकेर निषेधाज्ञा जारी गरेका छन् ।

बारा, पर्सा, जुम्ला, पाल्पा र रामेछापले अर्को आदेश नहुँदासम्मका लागि निषेधाज्ञा/सिल गरेका छन् । जिप्रका, पाल्पाले तानसेन नगरपालिका र जिप्रका रामेछापले रामेछाप नगरपालिका अर्को निर्णय नहुँदासम्मका लागि सिल गरेको छ ।

२८ स्थानीय सरकारद्वारा लकडाउन

आइतबार साँझसम्म संक्रमित संख्या २६ हजार ६६० र मृतक संख्या १०४ पुगेको छ । संक्रमित संख्या बढ्दै गएपछि स्थानीय सरकारहरूले लकडाउन घोषणा गरेका छन् ।

धनुषाको सबेला नगरपालिका, महोत्तरीको बर्दिबासका १, २, ७ र १४ नम्बर वडा, बलुवा नगरपालिकाको १ देखि ११ वडा र गौशाला नगरपालिकाको १-१२ वडामा लकडाउन गरिएको हो ।

सिरहाको मिर्चैया, लहान, गोलबजार, धनगढीमाई, सखुवानन्कारपट्टी, विष्णुपुर, लक्ष्मीपुरपतारी, सुखिपुर, भगावनपुर, बरियापुर र नरहामा जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रसँग समन्वय गरेर लकडाउन लगाएको छ ।

यस्तै, मोरङको बिराटनगर, सुन्दर हरैंचा, सुनवर्षी, बेलबारी, केराबारी, रतुवामाई, दार्चुलाको मार्मा, झापाको बिर्तामोड, रुपन्देहीको देवदह र बुटवल र कैलालीको कैलारीमा लकडाउन गरिएको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर ५ को कोटालटोल र वडा नम्बर १९ को महरुहिटीमा अर्को निर्णय नभएसम्मका लागि लकडाउन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment