Comments Add Comment

सांसदको लोगोमा २० लाख खर्च, माननीय भन्छन्- म त लाउँदिनँ !

१ भदौ, काठमाडौं । लिम्पियाधुरा क्षेत्र (चुच्चे नक्सा) समेटिएको संसदको लोगो भद्दा भएको भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा छ । आखिर कसले बनायो त यस्तो लोगो ? डिजाइनमा हेलचेक्र्याइँ कसले गर्‍यो ?

खासमा यो लोगो डिजाइन गर्ने व्यक्ति हुन्- ८७ वर्षे टेकवीर मुखिया ।

तर, उनले डिजाइन गरेको लोगो र अहिले वितरीत लोगोमा केही भिन्नता देखिएको छ ।

संघीय संसद सचिवालयले आग्रह गरेपछि मुखियाले दुईखालका लोगो डिजाइन गरेर सिफारिस गरेका थिए । एउटामा जौको बालाले घेरिएको प्रतीक चिन्ह थियो, अर्कोमा महिला-पुरुषको हातले समेटिएको नेपालको नयाँ नक्सा र राष्ट्रिय झन्डा थियो ।

महिला-पुरुषको हातले समेटिएको नेपालको नयाँ नक्सा र राष्ट्रिय झन्डा भएको डिजाइनलाई संसद सचिवालयले स्वीकार गर्‍यो र सोहीअनुसार लोगो बनाउन बागमती प्रदेशअन्र्तगतको घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई निर्माणको अर्डर दियो ।
तर, अर्डर दिएको डिजाइनभन्दा लोगो केही भिन्न रुपमा तयार भयो ।

डिजाइन गरेको लोगोको नक्सामा लिम्पियाधुरासहितको वास्तविक नक्सालाई प्रष्ट देखाइएको छ । सांसदहरुलाई वितरीत लोगोमा भने लिम्पियाधुरा क्षेत्रलाई समेटिएको चुच्चो त छ, तर, डिजाइनमा भन्दा अलि फरक र भद्दा ।

वास्तविक नक्सा अनुसार नै डिजाइनवाला लोगोमा नेपालको पश्चिम भाग उठेको छ र पूर्वी भाग अलि तल झुकेको छ । तर, सांसदलाई वितरीत लागोमा नक्सा सिधा, चारपाटेजस्तो देखिएको छ ।

एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले ब्यङ्ग्य गरेका छन्, ‘चुच्चो जोड्दा नेपालको अन्य भूभाग छोडेर सांसदले लोगो लगाएछन् !’

हातले कुँदेका कारण भद्दा देखियो !

संसद सचिवालयको तर्क छ, ‘लोगो नराम्रो त छैन, तर, हातले कुँदेका कारण हल्का टिप्पणी आएका छन् ।’

बाहिर भनिएजस्तो लोगो भद्दा नरहेको तर्क गर्छन् संसद सचिवालयका सूचना अधिकारी दशरथ धमला । ‘एकजनाले बनाएको होइन, फरक-फरक मान्छेले बनाएका कारण केही कमी कमजोरी भएको हुन सक्छ’ उनले भने ।

लोगो बनाउने घरेलु तथा साना उद्योग कार्यालय ललितपुरकी प्रमुख अम्बिका ज्ञवाली भने केही भद्दा भएको स्वीकार गर्छिन् । ‘मेसिनमा बनाएको जस्तो नहुने भयो । हातले बनाउँदा हल्का भद्दा भइहाल्छ’ ज्ञवालीले अनलाइनखबरसँग भनिन्, ‘नमुना हेरेरै बनाएको हो ।’

घरेलु तथा साना उद्योग कार्यालयका कलाकारले डेढ महिना लगाएर हातैले कुँदेर नयाँ लोगो बनाएका हुन् । संसद सचिवालयका अनुसार नयाँ लोगोमा २ लाल सुनको जलपमा १ तोला चाँदीको लेप लगाएको छ । नक्सा पित्तलबाट तयार भएको छ भने बेश चाँदीको हो । हातमा चाहिँ तामाको प्रयोग भएको छ । लोगोको व्यास(एक छेउबाट अर्को छेउ) ३.५ सेन्टिमिटरको छ ।

लोगोका डिजाइनर मुखियालाई ५० हजार पारिश्रमिक दिइएको छ । लोगो कुद्नेलाई पर पिस २५ सय ज्याला दिइएको छ । यो उद्योग मन्त्रालयले नै निर्धारण गरेअनुसार भएको सचिवालयले जनाएको छ ।

ज्याला र सुन, चाँदी र धातुको मूल्यसमेत गरी प्रत्येक लोगोको मुल्य ५ हजार ५ सय २७ रुपैयाँ ८६ पैसा पर्न गएको छ । सचिवालयका अनुसार साढे तीन सय लोगो बनाएको छ । यसका लागि करिब २० लाख रुपैयाँ खर्च भएको छ ।

सांसद सुब्बा भन्छन्- छिछिछि म त लाउँदिनँ !

जसका लागि लोगो बनाएको हो उनीहरु नयाँ लोगोप्रति असन्तुष्ट छन् । अहिलेको नयाँ लोगो बनाउनेहरु दण्डित हुनुपर्ने माग गरेका छन् ।

सत्तारुढ नेकपाकै सांसद विजय सुब्बाले नयाँ लोगो नलगाउने घोषणा गरे । ‘छिछिछि यस्तो घिनलाग्दो लोगो, मचाहिँ लाउँदिनँ । प्रमाणपत्र बोकेर हिँड्छु, आइडी कार्ड बोकेर हिँड्छु’, सांसद सुब्बाले अनलाइनखबरसँग भने, ‘यति सारो नमिलेको, अशुद्ध, भद्दा र हास्यास्पद लोगो कसरी लाउनू ? नेपालको नक्सा त्यस्तै हो ? यो कसरी स्वीकृत भयो होला ? यसको निर्माता कस्तो होला ?’
यस्तो भद्दा लोगो बनाउनेहरु दण्डित हुनुपर्ने सांसद सुब्बाको माग छ, ‘ल अब तयार भयो भनिदिने संस्थाले संघीय संसद, नेपाल र राष्ट्रिय झण्डाको यस्तो अपमान गरेकोमा दण्डित हुनुपर्छ ।’

कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाम्फेले पनि नयाँ लोगो भद्दा देखिएको भनेर आफूले संसद सचिवालयको ध्यानाकर्षण गरेको बताएकी छन् ।

नेकपाका केन्द्रीय सदस्य विजय पौडेलले सांसदको लोगो देख्दा आफूलाई अचम्म लागेको उल्लेख गरे । ‘यो माननीय सांसदहरुले लगाउन नै बनाएको लोगो हो वा कसैले बेइज्जती गर्न पोस्ट गरेको हो ? संसद सचिवालयले आदेश दिएर बनाएकोमा यति सारो रद्दी सामाग्री त नहुनुपर्ने । के हो यो ? अचम्म लाग्यो’ पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment