Comments Add Comment

हिन्दु पराम्पराअनुसार भएको अन्त्येष्टिमा मुस्लिमको साथ

तस्वीर : मन्सुर खान

१ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१३ शिवनगरका ५६ वर्षीय लालबाबु साह कलवार कोरोनालाई जितेर फर्किएको केही घण्टामा मृत्युसँग हारे ।

शनिबार राति वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालबाट डिस्चार्ज भएका उनलाई झाडापखाला लाग्नुका साथै श्वासप्रश्वासमा समस्या भयो । र, बयोधा अस्पतालमा उपचारकै क्रममा उनको शनिबार राति साढे ११ बजे मृत्यु भयो ।

एकातिर समुदायमा संक्रमण फैलिएको त्रास, अर्कातिर भर्खर कोरोनामुक्त भएको साहको मृत्यु । त्यसैले उनको अन्त्येष्टिमा नजिकका आफन्त मात्र सहभागी भए ।

अन्त्येष्टि मृतकका दुई सालो, सालोको छोरा, छोरी ज्वाइँबाहेक छरछिमेकी आएनन् । तर वडाध्यक्ष तुफान फारुक अन्सारी र मृतकसँगसम्बन्ध भएका मुस्लिम समुदायका मानिसहरु आए । हिन्दु परम्परा अनुसार भएको अन्त्येष्टिमा सहयोग गरे ।

त्यसक्रममा मुस्लिम समुदायका एक व्यक्तिले मृतकको कान्छो छोराको कपाल मुण्डन गरिदिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

मृतकका भदा (सालोका छोरा) मनिष जयसवालका अनुसार मृतकको शवमा दागबत्ती दिनुअघि किरिया बस्ने व्यक्तिको कपाल खौरने चलन छ । मृतकका जेठो छोरा आइसोलेसनमा छन्, त्यसैले उनका कान्छो छोरा किरिया बस्ने भए । कपाल खौरन हजामलाई बोलाइएको थियो, तर आउन मानेनन् ।

‘मेरो बुवाले आफैंले खौरन लाग्नुभएको थियो । बानी नभएकाले विस्तार खौरिनुभयो’ उनले भने ‘अंकल (मस्लिम समुदायका व्यक्ति)ले मैले सहयोग गर्न मिल्छ र ? भनेर सोध्नुभयो । यस्तो अवस्थामा सबैले सहयोग गर्न मिल्छ भनेपछि कपाल खौरिदिनु भएको हो । त्यही फोटो सामाजिक सञ्जालमा आएछ ।’

वडा नं १३ का वडाध्यक्ष अन्सारीले पनि दाह संस्कारको विधिबारे राम्रो जानकारी नभएको मानिसहरु मात्रै सहभागी भएको जानकारी पाएपछि आफूहरुले सहयोग गरेको बताउँछन् ।

‘राधेमाई मन्दिरमा गरीब गुरुवालाई खाना खुवाउने व्यवस्था गरेका थियौं । त्यति नै बेला एम्बुलेन्समा लालबाबु जीको शव आयो । म दाह संस्कार गर्ने ठाउँमा पुगे । मुस्लिम समुदायका मानिस पनि आए’ उनले भने ।

उनका अनुसार मुस्लिम समुदायका मानिसहरु धेरै थिए । विधि विधानका लागि हिन्दु धर्मका मानिसहरु चाहिने भएपछि वडा सदस्य राजकुमार कुशवाहलगायतलाई बोलाएको र हिन्दु परम्परा अनुसार दाह संस्कार गरिएको उनले बताए ।

वडा सदस्य कुशवाहा भन्छन्, वडाध्यक्ष आएर हिन्दु परम्पराअनुसार कसरी दाह संस्कार गरिन्छ भन्ने समेत थाहा छैन भन्नुभयो । त्यसपछि मसहित ६ जना गएका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment