Comments Add Comment

आइफोन ११ विश्वकै लोकप्रिय स्मार्टफोन, सामसुङको कमजोर प्रदर्शन

अमेरिका र चीनबीच व्यापार युद्ध चर्किरहेको बेला चिनियाँ बजारमा अमेरिकी कम्पनी एप्पलको आइफोन ११ सबैभन्दा लोकप्रिय स्मार्टफोन बन्न सफल भएको छ ।

काउन्टर प्वाइन्ट रिसर्चको पछिल्लो रिपोर्टअनुसार चालु वर्ष सन् २०२० को दोश्रो त्रैमासिकमा चिनियाँ बजारमा आइफोन ११ सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन बनेको छ ।

रिपोर्टअनुसार आइफोन ११ पहिलो स्थानमा रहँदा ओप्पो ८, अनर ९ एक्स, भिभो वाइ थ्री र हुवावे मेट ३० फाइभ जी शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

यीमध्ये आइफोन ११ र हुवावे मेट ३० फाइभ जी मात्रै पि्रमियम सेग्मेन्टका फोन हुन् भने अन्य तीनवटा फोन सुपथ मूल्यका अर्थात् बजेट फोन हुन् ।

चीनका अलावा अमेरिका, जर्मनी, बेलायत र जापानमा समेत आइफोन ११ सर्वाधिक लोकप्रिय फोन बनेको छ । बेलायतमा त सबैभन्दा लोकप्रिय शीर्ष ५ स्मार्टफोन मध्ये ४ वटा आइफोन नै परेका छन् । जापानमा पनि सर्वाधिक लोकप्रिय शीर्ष ३ स्मार्टफोनमा आइफोन ११ परेको छ ।

Omdia रिसर्च कम्पनीले समेत आफ्नो एक रिपोर्टमा आइफोन ११ अहिले विश्वकै सबैभन्दा लोकप्रिय फोन रहेको निष्कर्ष निकालेको छ । कोरोना भाइरस महामारीका बाबजुत सन् २०२० को पहिलो ३ महिनामै एप्पलको आइफोन ११ विश्व बजारमा १ करोड ९५ लाख गोटा बिकेको थियो ।

एप्पलको फ्लागशीप फोन आइफोन ११ मा विभिन्न उत्कृष्ट फिचरहरु रहेको हुनाले स्मार्टफोन प्रयोगकर्ताहरुले निकै रुचाएका छन् । यसमा ६.१ इन्चको एलसिडी डिस्प्ले, सिक्स कोर ए१३ बायोनिक ६४ बिटको प्रोसेसर र अक्टाकोर न्यूरल इन्जिन रहेको छ । यो आइफोन ६४ जिबी, १२८ जिबी र २५६ जिबी गरी तिनवटा स्टोरेज मोडेलमा उपलब्ध छ ।

अमेरिकामा सामसुङ पनि लोकप्रिय

चिनियाँ बजारमा स्वदेशी स्मार्टफोनहरुले शीर्ष ५ मध्ये ४ स्थान कब्जा गरिरहेको बेला अमेरिकामा चाहिँ सामसुङका स्मार्टफोनसमेत लोकप्रिय देखिएका छन् ।

सन् २०२० को दोश्रो त्रैमासिकमा अमेरिकी बजारमा समेत आइफोन ११ सर्वाधिक लोकप्रिय रहेको छ । दोश्रो स्थानमा सामसुङ ग्यालेक्सी ए१०ई रहँदा तेश्रो स्थानमा सामसुङ ग्यालेक्सी ए२० रहेको छ । चौथो स्थानमा आइफोन एक्सआर र पाँचौँ स्थानमा आइफोन ११ प्रो म्याक्स रहेको छ ।

उता दक्षिण कोरियाली बजारमा भने सामसुङ ग्यालेक्सी ए५१ पहिलो स्थानमा रहन सफल भएको छ । विश्व बजारमा समग्रमा पहिलो स्थानमा रहेको आइफोन ११ कोरियाली बजारमा भने दोश्रो स्थानमा झरेको छ । तेश्रो स्थानमा हुवावे पि३० लाइट, चौथो स्थानमा शाओमी रेडमी नोट ८ टी र पाँचौ स्थानमा हुवावे पि स्मार्ट २०२० रहेका छन् ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment