+
+
Shares

बुटवलको तरकारी थोक बजार निषेधित क्षेत्र घोषणा 

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३ गते १९:२६

३ भदौ, बुटवल । बुटवल उपमहानगरपालिकाले बुटवलको तरकारी थोक बजारमा हरियो तरकारी बिक्री गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेको छ ।

उपमहानगरपालिकाले बुधबार दिउँसो एक सूचना जारी गर्दै बिहीबार बिहानदेखि भदौ ७ गतेसम्म तरकारी थोक बजारलार्ई निषेधित क्षेत्र घोषणा गरेको हो ।

तरकारी बजारमा हुने भिडभाडले कोरोना संक्रमणको जोखिम बढ्ने स्थानीयको गुनासोलाई समेटेर अनलाइनखबरले बुधबार बिहान समाचार प्रकाशन गरेको थियो ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जारी गरेको सूचनामा तरकारी थोक बजारमा हुने गरेको भिडभाडले कोरोना संक्रमण फैलिन सक्ने देखिएकाले लुम्बिनी प्रादेशिक अस्पतालदेखि तिनाउ पुलसम्म र तरकारी थोक बजारदेखि कालिकापथको न्यू इरा होटलसम्म तीन दिनका लागि हरियो तरकारी बिक्री वितरण गर्न नमिल्ने गरी निषेधित क्षेत्र कायम गरिएको उल्लेख छ ।

निषेधित क्षेत्रमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर आलु, प्याज, लसुन र फलफूल बिहान ७ देखि ९ बजेसम्म बिक्री गर्न पाइने उपमहानगरले स्पष्ट पारेको छ ।

रुपन्देही प्रशासनले मंगलबारदेखि नै जिल्लाभर निषेधाज्ञा जारी गरेको र उपमहानगरपालिकाले समेत साउन २९ गतेदेखि लकडाउन गरेको सन्दर्भमा निषेधाज्ञा र लकडाउनलाई बेवास्ता गर्दै बुटवल उपमहानगरपालिका आफैं सञ्चालक सदस्य रहेको थोक तरकारी बजारमा संक्रमणको जोखिमलाई बढाउने गरी भिडभाड हुने गरेको थियो ।

तरकारी बजारमा ७० वटा भन्दा बढी तरकारी र फलफूल पसल छन् । जहाँ भारतका विभिन्न ठाउँबाट तरकारी र फलफूल बोकेर भारतीय ट्रक चालक र मजदुर थोकबजारसम्मै आउने गर्छन् ।

नेपालका पनि धेरै जिल्लाबाट यहाँ तरकारी आउने गर्छ । तर उपमहानगरपालिका र थोक बजार सञ्चालक समितिले बजारमा सामाजिक दुरी कायम गराउन, मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गराउन चासो दिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?