Comments Add Comment

लकडाउनमा चाप घटेका बेला छापिए सबै स्मार्ट लाइसेन्स

३ भदौ, काठमाडौं । प्रक्रिया पुरा गरेका स्मार्ट लाइसेन्सको छपाइ सकिएको छ । गत जुलाई महिनासम्म लाइसेन्स कार्यालयहरुले नयाँ जारी गर्ने र नवीकरण गर्ने गरी विभागमा छाप्न पठाएका सबै स्मार्ट लाइसेन्सको छपाइ सकिएको हो ।

छपाइ ढिलो हुँदा करिब ४ वर्षदेखि स्मार्ट लाइसेन्सको वितरणमा समस्या छ । तर, लकडाउनका कारण नयाँ लाइसेन्स जारी गर्ने क्रम लगभग रोकिएपछि विभागले पुरा लाइसेन्सको छपाइ सकेको हो ।

गत वर्ष इटालीबाट विभागले मास प्रिन्टर पनि किनेर ल्याएको थियो । सबैजसो प्रदेशमा कोरोनाको महामारीका कारणा सवारी लाइसेन्सको परीक्षा बन्द भएका छन् भने नवीकरणको क्रम पनि पातलिएको छ ।

यसले गर्दा विभागमा छापाइ गर्नुपर्ने लाइसेन्सको चाप घटेको थियो । यही मौकामा विभागले लगातार छपाइको काम गरेर ‘ब्याक लक’ फुकाएको हो ।

विभागका प्रवक्ता तीर्थराज खनालका अनुसार अब प्रक्रिया पुरा गरेपछि चालकहरुलाई एक महिनामै लाइसेन्स दिन सकिनेछ । कागजी प्रक्रिया पुरा भएर आउने लाइसेन्स छापेर हुलाकमार्फत सम्बन्धित प्रदेशमा पठाउनुपर्ने भएकाले एक महिनाको समय लाग्ने अवस्था विद्यमान रहेको उनले बताए ।

‘अब पुराना लाइसेन्स छाप्न बाँकी छैन,’ उनले भने,’अब नियमित रुपमा आउने लाइसेन्स नियमित रुपमै छापिएर कार्यालयहरुमा पाउन सकिने छ ।’

तर, लाइसेन्स कार्यालयहरुका अनुसार लकडाउनका बेलामा चालकहरु घरमै थुनिएकाले धेरै जना नवीकरणका लागि आएका छैनन् । नयाा लाइसेन्स लिने र वर्ग थप्नेहरु पनि प्रक्रियामा सामेल हुन पाएका छैनन् ।

स्थिति समान्य हुनासाथै कार्यालयहरुमा भीड बढ्ने र फेरि एकैपटक थुप्रै चालकहरुले लाइसेन्स माग गर्ने भएकाले भविष्यमा विभागको छपाइको क्षमताले धान्न कठीन हुने उनीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment