Comments Add Comment

बाढीपीडितलाई राहत बोकेर गृहमन्त्रीसहितको टोली अछाम प्रस्थान

५ भदौ, काठमाडौं । अछामको रामारोशन गाउँपालिकाका बाढी पीडितहरुका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा (बादल)सहितको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

गृहमन्त्रीसहितको टोली शुक्रबार बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौंबाट अछामतर्फ प्रस्थान गरेको हो । सो टोली सर्खेतमा अवतरण गर्ने र सुर्खेतबाट एमआई–१७ हेलिकोप्टरमार्फत् अछाम पुग्ने गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

टोलीमा गृहमन्त्री बादल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, नेकपा नेता एवम् सांसद भीम रावल, सांसदहरु शेरबहादुर कुँवर र तारामान कुँवर, गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, विपद जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेललगायत छन् ।

अछाम लगिएका राहत सामग्रीहरु धेरैजसो नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराइदिएको छ । नेकपा नेता एवम् सांसद भीम रावलले पनि ११ वटा त्रिपालको व्यवस्था गरेका छन् । १ हजार ५५ किलो राहत सामग्रीमा खाद्यान्न, भाँडाकुँडा, त्रिपाललगायतका सामग्री छन् ।

अछामको रामारोशन गाउँपालिका–५ कैलाश खोलामा गत बुधबार आएको बाढीले स्थानीय सैनीबजार बगाउँदा ६ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment