
५ भदौ, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमितको संख्यामा बिस्तारै कमी आउन थालेको छ । यद्यपि संक्रमण घट्नुको कारण भने पत्ता लागेको छैन ।
जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अमेरिकामा पछिल्लो एक सातामा औसतमा दैनिक ४७ हजार तीन सय संक्रमित फेला परेका छन् । गत जुलाई २२ अघिको एक सातामा औसतमा दैनिक ६७ हजार ३१७ नयाँ संक्रमित फेला परेका थिए ।
अमेरिकामा कोरोना भाइरसको परीक्षणको नेतृत्व गरिरहेका ब्रेट गिरोयरले अहिले अमेरिकामा कोरोना भाइरसको संक्रमण सही दिशामा अघि बढिरहेको बताएका छन् । उनका अनुसार पछिल्लो समय संक्रमणमा कमी आउनुको कारण फेस कभरको प्रयोग र भौतिक दुरीको पालना हुनु हो ।
यद्यपि केही विश्लेषकहरुले भने अमेरिकामा परीक्षण नै घटाइएको कारण संक्रमितको संख्यामा कमी आएको बताइरहेका छन् । एटलान्टिक कोभिड ट्र्याकिङ प्रोजेक्टका अनुसार अमेरिकाको दक्षिणी हिस्सामा संक्रमण बढिरहेको अवस्थामा त्यहाँको परीक्षण भने अचानक घटाइएको थियो ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4