Comments Add Comment

समग्र इजरायललाई हल्लाइदिने एक सामूहिक बलात्कारको मुद्दा

५ भदौ, काठमाडौं । इजरायलको दक्षिणी सहर एलातमा १६ वर्षीया किशोरीमाथि भएको भनिएको बलात्कारको मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । अहिलेसम्म यो घटनामा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार एक आरोपीले किशोरीसँग ३० भन्दा धेरै व्यक्तिले यौनसम्पर्क गरेको बताएका छन् । तर, उनले बलात्कार भने नगरेको दाबी गरेका छन् । उनीहरुमाथि किशोरीलाई नशा दिएर बेहोस पारी बलात्कार गरेको आरोप छ ।

अहिले समग्र इजरायलमा यो बलात्कारको मुद्दाको चर्चा चलेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यो घटनामा दोषीलाई सजाय दिइने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फन् यो घटनाको विषयलाई कुनै शब्द नभएको र यो कुनै किशोरीमाथि भएको अपराध मात्र नभई समग्र मानवताविरुद्धकै अपराध भएको बताएका छन् । उनले यस किसिमको अपराध हरेक किसिमले निन्दनीय रहेको बताएका छन् ।

गत शुक्रबार किशोरीले प्रहरीमा उजुरी दिएकी थिइन् । इजरायलका सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार यो महिनाको सुरुमा यी किशोरी आफ्ना साथीसँग एलात गएकी थिइन् । त्यहाँ उनको भेट उनको साथीका परिचित मानिसहरुसँग भएको थियो । उनीहरु सबै एकैसाथ ड्रिंक्सका लागि बाहिर गए र फेरि होटल फर्किए ।

होटलमा फर्किएपछि सबैले पालैपालो बलात्कार गरेको आरोप किशोरीले लगाएकी छिन् । अधिकारीहरुका अनुसार किशोरीका साथीले उनलाई सहयोग गर्ने प्रयास गरेका थिए तर उनले उनीहरुलाई रोक्न सकेनन् ।

अहिले पक्राउ गरेका दुई आरोपीलाई सार्वजनिक गरिएको छैन । समाचारमा बताइएअनुसार उनीहरु सबै इजरायली हुन् र उनीहरुको उमेर २० वर्षको आसपास छ ।

टाइम्स अफ इजरायलका अनुसार प्रहरीले एक आरोपी र किशोरीको बीचमा भएको म्यासेजका साथै किशोरीसँग भएको ज्यादतीको भिडियो पनि पाइएको बताएको छ । त्यसपछि उनलाई पक्राउ गरिएको थियो । तर, आरोपीले भने किशोरीसँग कुनै किसिमको म्यासेज नपठाएको बताएका छन् । उनले आफ्नो फोन अरु नै कसैले प्रयोग गरेको बताएका छन् ।

उनै आरोपीले प्रहरीलाई यो घटनामा ३० भन्दा धेरै मानिस सामेल रहेको बताएका थिए । यद्यपि उनले सेक्युरिटी क्यामेरा फुटेजबाट हेर्दा पनि यो सबै सहमतिमा भएको हो भनेर साबित हुन सक्ने बताएका छन् ।

इजरायलका रक्षामन्त्री बोनी गांट्जले यो घटनाको भत्र्सना गरेका छन् । उनले ट्विटरमार्फत भनेका छन् – प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, यो कुरा महत्वपूर्ण छ कि जो यो घटनामा सामेल थिए वा यो घटनाका साक्षी वा अरु हुन्, म उनीहरुलाई यो सन्देश दिन चाहन्छु कि केवल एक चीज तपाईंहरुले साबित गर्नुभएको छ र त्यो हो तपाईंहरुमा आत्मा र नैतिकताको कमी थियो । उजुरी गर्ने किशोरीलाई म यति भन्न चाहन्छु कि म मनैदेखि तपाईंको साथमा छु । तपाईं एक्लो हुनुहुन्न ।

गत वर्ष १९ वर्षीया एक बेलायती किशोरीले पनि साइप्रसको एक होटलमा १२ इजरायली मानिसले सामूहिक बलात्कार गरेको आरोप लगाएकी थिइन् । तर, अनुसन्धानमा भने किशोरीले झुट बोलेको पाइएको थियो र उनलाई चार महिनाको निलम्बनको सजाय सुनाइएको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment