Comments Add Comment

पर्सामा दुई जनाको शव भेटियो

७ भदौ, वीरगञ्ज । पर्सामा दुई जनाको शव फेला परेको छ । पर्साको पटेर्वासुगौली र ठोरी गाउँपालिकामा गरी दुई जना पुरुषको शव फेला परेको हो ।

सखुवाप्रसौनी गाउँपालिका–२ घुसुकपुर बस्ने ४७ वर्षीय राजेन्द्र दहित थारू र ठोरी गाउँपालिका–१ दीपकनगरका ५९ वर्षीय सन्तु लामाको शव भेटिएको हो ।

पटेर्वासुगौली गाउँपालिका–२ अन्तर्गत पर्ने राष्ट्रिय वन जङ्गलभित्रबाट दलितको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनलाई जंगली हात्तीले नै आक्रमण गरेर मारेको हुन सक्ने आशंका गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जिल्ला शनिबार जंगल गएका ४ जनामध्ये तीन जना सकुशल फर्केको तर एक जना मृत भेटिएको जानकारी दिए ।

मृत्युको कारण पोष्टमार्टमपछि मात्रै खुल्ने प्रहरी नायब उपरीक्षक कुँवरको भनाइ छ । प्रहरीले घटनास्थल जाँच मुचुल्का गरेर शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक दीपक चोरवारले घटनास्थलको प्रकृति हेर्दा हात्तीले नै आक्रमण गरेर मारेको जस्तो देखिने बताए ।

‘शवको वरिपरि हात्ती बसेको र दिसा गरेको देखिन्छ’ उनले भने ‘मृतकको अनुहारमा घिसारेको घाउ देखिन्छ । शरीरका अन्य भागमा पनि चोटपटक छ । हात्तीले नै आक्रमण गरेर मारेको हुन सक्छ ।’

त्यस्तै ४ दिनदेखि हराइरहेका लामा गाउँकै झिङ्गे खोलामा मृत भेटिएका छन् । ईलाका प्रहरी कार्यालय ठोरीका अनुसार ४ दिनअघि घरबाट निस्कएका लामाको २ दिनसम्म स्थानीयले खोजी गरेका रहेछन् ।

स्थानीयले खोजी गर्दा कतै फेला नपरेपछी शनिबार इलाका प्रहरी कार्यालय ठोरीमा निवेदन दिएका थिए । आइतबार बिहान च्याउ टिप्न गएका स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सड्न थालिसकेको अवस्थामा खोलामा लामाको शव फेला परेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरिक्षक अशोक साहले जानकारी दिए । घट्नास्थलको अवस्था हेर्दा शंकास्पद नदेखिएपनि घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

उनको शव घोप्टो परेको अवस्थामा भेटिएको छ । अत्याधिक मदिरा सेवन गरेर उनी खोलामा लडेको हुनसक्ने प्रहरीको आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment