
८ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले विदेशमा समस्यामा परेका नेपालीलाई सरकारी खर्चमा स्वदेश फिर्ता गराउन आग्रह गरेकी छन् ।
सोमबार विज्ञप्ति निकालेर उनले कोरोना भाइरसको महामारीका कारण काम गुमाएर राहतको आशामा बसेका श्रमिकहरुको पहिचान गरी तत्काल निशुल्क उद्धार गर्न माग गरेकी हुन् ।
‘श्रम स्वीकृति लिएर गएका तर आफ्नो करार अवधि नपुगी कम्पनीले फर्किन वाध्य पारेका र कम्पनीले टिकट नदिएका श्रमिकहरुलाई सर्वोच्चको आदेश अनुसार श्रम कल्याणकारी कोषबाट उद्धार गरियोस्’ संग्रौलाले भनेकी छन् ।
उनले विदेशबाट आउनेले नै तिर्ने गरी ७ दिनको लागि होटल बुकिङ गर्नैपर्ने गरी भएको निर्णय फिर्ता लिन आग्रह गरेकी छन् । होटलमा पैसा तिर्न नसक्ने श्रमिकहरुलाई निःशुल्क क्वारेन्टिनको ब्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।
विदेशको विकासका लागि अनुभव बटुलेका श्रमिकहरुको सीपलाई प्रयोग गरी देश विकासमा उनीहरुको सहभागितासहितको रोजगारी र स्वरोजगार ब्यापार र ब्यवसाय गर्नेहरुलाई सरकारले कम ब्याजदरमा सुलभ ऋण र अनुदानको व्यवस्था गर्नुपर्ने संग्रौलाले उल्लेख गरेकी छन् ।
यस्तै, कोरोना संकटभन्दा पहिले नै विदेशमा मृत्यु भएका ७० भन्दा बढी नेपालीको शव अलपत्र रहेको उल्लेख गर्दै उनले ती शव यथाशीघ्र नेपाल ल्याएर परिवारलाई जिम्मा लगाउन पनि आग्रह गरेकी छन् ।
प्रतिक्रिया 4