Comments Add Comment

कोरोना रिपोर्ट नआउँदा १८ घण्टादेखि उठाइएन शव

रिपोर्ट आउन १० घण्टा लाग्ने

९ भदौ, कैलाली । कैलालीमा कोरोना संक्रमण परीक्षणको रिपोर्ट नआउँदा एक महिलाको शव १८ घण्टादेखि उठाइएको छैन । सोमबार राति ८ बजे आइसोलेसन सेन्टरमा मृत्यु भएकी घोडाघोडी नगरपालिका–११ कि महिलाको शव जहाँको त्यहीँ छ ।

उनको मृतक श्रीमान र छोरामा पनि कोरोना संक्रमण पुष्टि भए पनि उनको भने मृत्युपछि मंगलबार विहान १० बजे मात्र स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ ।

घोडाघोडी नगरपालिका– १० मा पनि मंगलबार विहान आत्महत्या गरेका युवकमा पनि कोरोना परीक्षण नभएकाले शव उठाइएको छैन । उनको शव ६ घण्टादेखि घरभित्रै छ । उनका परिवारको ५ सदस्यमा कोरोना संक्रमण पुष्टि भइसकेकाले आफन्त र गाउँलेले शव उठाउन मानेका छैनन् ।

ती युवकको बाबु, आमा, छोरी र दुई भतिज गरी ५ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु साउन २५ गते भारतबाट आएका थिए, र उनीहरुको परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक युवक भने गाउँमै रहेकाले परीक्षण गरिएको थिएन । मृत्युपछि कोरोना परीक्षण गर्न मंगलबार दिउँसो २ बजे स्वाब संकलन गरिएको छ ।

स्थानीयले भने घरबाट तत्काल शव उठाउन माग गरेका छन् । ‘घरमा रुवाबासी छ । तत्काललाई अर्को स्थानमा राखेर रिपोर्टपछि व्यवस्थापन गर्नुपर्ने हो’ स्थानीय जगत जोशीले भने ‘अहिले पुलिस पनि लास हेरेर फर्किरहेका छन् ।’

प्रहरीले माथिबाट शव नउठाउन आदेश आएको बताए । ‘५ जनामा कोरोना पोजेटिभ छ । उहाँमा जे पनि हुन सक्छ’ इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टले भने ‘सीडीओ साबले रिपोर्ट नआउँदासम्म लास नउठाउनु भन्नुभएको छ ।’

घोडाघोडी नगरपालिकामा मेयर ममताप्रसाद चौधरीले रिपोर्ट नआई शव व्यवस्थापन गर्न नसकिने बताए । ‘रिपोर्ट आएपछि उनीहरूको शव व्यवस्थापन हुन्छ’ उनले भने ‘आज रिपोर्ट आएन भने शव पनि उठ्दैन ।’

कोरोना परीक्षण गरिने प्रयोगशाला रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले स्वाब परीक्षणको नतिजा आउन कम्‍तीमा १० घण्टा लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment