Comments Add Comment

कर्णालीका ७ जिल्लामा निषेधाज्ञा, आवश्यक कि अनावश्यक ?

९ भदौ, सुर्खेत । कोरोना भाइरस संक्रमण फैलिने जोखिम बढेको भन्दै कर्णाली प्रदेशका ७ जिल्लामा हाल निषेधाज्ञा लगाइएको छ ।

प्रदेशका १० जिल्लामध्ये सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, मुगु, जाजरकोट र रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको आदेश जारी गरेका छन् ।

जुम्ला, मुगु, कालीकोट र दैलेखमा जिल्लाभर निषेधाज्ञा छ भने सुर्खेतको वीरेन्द्रनगर, रुकुम पश्चिमको मुसीकोट, आठविसकोट, सानीभेरी र जाजरकोटको भेरी नगरपालिकामा निषेधाज्ञा लागू भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका डीएसपी लोकनाथ तिम्सिनाका अनुसार साउन ३२ देखि जुम्लामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । यस्तैै मुगु र जाजरकोटमा भदौ १५ गतेसम्म, दैलेख र कालिकोटमा १० गतेसम्म, सुर्खेतको वीरेन्द्रनगरमा १२ गतेसम्म र रुकुम पश्चिमका तीन स्थानीय तहमा भदौ १४ गतेसम्म निषेधाज्ञा छ ।

हाल प्रदेशमा औसतमा दैनिक ३० जना नयाँ संक्रमित भेटिएका छन् ।

निषेधाज्ञा अवधिभित्र स्वास्थ्य, सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल, तरकारीजस्ता अत्यावश्यक सेवा तथा व्यवसाय सञ्चालन गर्न दिइएको छ ।

निषेधाज्ञा आवश्यक हो कि होइन ?

विज्ञहरुले भने प्रदेशमा निषेधाज्ञा लगाउन आवश्यक नभएको बताएका छन् । संक्रमण रोकथामको अन्तिम विकल्प निषेधाज्ञा नभएको प्रदेश अस्पतालका विशेषज्ञ डा.नवराज केसी बताउँछन् ।

‘पूर्ण निषेधाज्ञा नभइ संक्रमित देखिएको टोललाई सिल गर्दा उपयुक्त हुन्छ,’ डा. केसीले भने, ‘निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्नुपर्छ । यसरी प्रदेशभरि निषेधाज्ञा गर्न थाले यसले भोकमारी निम्त्याउन सक्छ ।’

स्वास्थ्य पूर्वाधार, जनशक्ति व्यवस्थापन, परीक्षणको दायरा, सचेतना तथा सीमा नाकाहरूमा कडाइ र भिडभाड नियन्त्रणमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।

बबइ नाकामा १० संक्रमित

गत भदौ १ गतेदेखि प्रदेश ५ र कर्णाली प्रदेशको सीमा नाका बबईमा कर्णाली भित्रिनेहरूको पीसीआर परीक्षण गर्न थालेको छ ।

हालसम्म साढे ६ सय जनाको पीसीआर परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले बताए । उनीहरु धेरैजसो अत्यावश्यक सामग्री ओसार्ने हेभी सवारीका चालक हुन् ।

समुदायमा पुग्ने खतरा

‘ट्राभल हिस्ट्री’ नै नभएका व्यक्तिमा संक्रमण हुनु, लक्षणसहितका संक्रमित देखिनुले खतराको संकेत गरेको प्रदेश अस्पतालका चिकित्सक डा.केएन पौडेल बताउँछन् ।

‘केही दिनयता कर्णालीमा भेटिएका संक्रमितको प्रकृति र तथ्यांक केलाउँदा संक्रमितहरूको ग्राफ उकालो लाग्दै गरेको देखिन्छ,’उनले भने, ‘यसलाई ‘खतराको घण्टी’ अर्थात् संक्रमण समुदायतिर सरेको संकेतका रूपमा लिन सकिन्छ ।’

प्रदेशका ६६ पालिकामा संक्रमण

कर्णाली प्रदेशका ७९ मध्ये ६६ स्थानयि तहमा कोरोना संक्रमित भेटिएका छन् । प्रदेश स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार कर्णालीमा ८४ जना संक्रमित अन्य प्रदेशका छन् ।

प्रदेशमा सबैभन्दा बढी दैलेखको नारायण नगरपालिकामा ३०४ र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा २०२ जना संक्रमित छन् । त्यस्तै दैलेखको महावु र नौमुले गाउँपालिका, दुल्लु नगरपालिका र सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा पनि संक्रमितको संख्या १ सय नाघेको छ ।

प्रदेश स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशभर कोरोनाका दुई सय ९७ सक्रिय संक्रमित छन् । अहिलेसम्म ६ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २२९५ र निको हुनेको संख्या १९९२ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment