+
+

कर्णालीका संसदीय समितिले ९ महिनापछि पाए नेतृत्व

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते २१:५६

९ माघ, सुर्खेत । कर्णाली प्रदेश सभाका तीन संसदीय समितिहरूले ९ महिनापछि नेतृत्व पाएका छन् । प्रदेश सभा सचिवालयका अनुसार बुधवार तीन वटा संसदीय समितिको नेतृत्व सर्वसम्मत चयन गरिएको हो ।

संसदीय समितिको नेतृत्व भने दलिए भागबण्डामार्फत् टु‌ंगो लगाइएको छ । सार्वजनिक लेखा समितिको अध्यक्षमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद विन्दमान विष्ट, सामाजिक विकास समितिको अध्यक्षमा सत्तारुढ दल नेपाली कांग्रेसका पूर्णबहादुर खत्री र अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षमा नेकपा एमालेकी सांसद दक्षिणा कुमारी शाही चयन भएका छन् ।

विषयगत समितिको नेतृत्व टुङ्गो लगाउन प्रदेश सभाले मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । सोही अनुसार बुधबार उम्मेदवारको मनोनयन दर्ताको तालिका रहेकोमा तीन वटै समितिमा १÷१ जनाको मात्रै उम्मेदवारी परेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए ।

प्रदेशसभामा रहेका दलहरूबीचको सहमतिकै आधारमा मनोनयन दर्ता भएको माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बताए । सोहीकारण एकल मनोनयन परेको थियो ।

राजनीतिक सहमति अनुसार प्रदेश सभाको सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले लिएको छ । यसअघि एमालेका जीतबहादुर मल्ल समितिको सभापति थिए । लेखा समिति प्रतिपक्षलाई दिँदै आएको अभ्यास भएकाले उनले असोज १५ गते उक्त समितिबाट राजीनामा दिएका थिए ।

त्यस्तै अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति रहेका दुर्गबहादुर रावत ०८१ वैशाख १८ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेपछि समिति नेतृत्व विहीन बनेको थियो । सामाजिक विकास समितिका सभापति रहेका घनश्याम भण्डारी ०८१ साउन २० मा मन्त्री बनेपछि उक्त समिति खाली थियो ।

प्रदेश मामिला समितिमा भने एकीकृत समाजवादीकी कल्याणी खड्का अध्यक्ष रहेकी छिन् । कर्णाली प्रदेश सभामा कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी र राप्रपाको प्रतिनिधित्व छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?