Comments Add Comment

गृहको गोप्य सर्कुलर– पुजारी हत्याको विरोधमा हुने प्रदर्शन रोक्नू

११ भदौ, काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा गृह मन्त्रालयले प्रहरी र प्रशासनलाई पठाएको गोप्य सर्कुलर बाहिरिएको छ ।

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले नेपाल प्रहरीका प्रमुख महानिरीक्षक शैलेश थापा क्षेत्री र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको गोप्य पत्रमा पुजारीको हत्याको विरोधमा हुने प्रदर्शन रोक्न निर्देशन दिइएको छ ।

चार दिन अघि सम्प्रेषित पत्रमा पुजारी श्रीराम साहको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै विरोध प्रदर्शन र ज्ञापन पत्र बुझाउने जस्ता कार्य भएको बताउँदै विभिन्न जिल्लाहरुमा हुनसक्ने ‘अवाञ्छित गतिविधि’ रोक्न भनिएको छ ।

शाखा अधिकृत प्रतिक राईले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘घटनाको विषयलाई लिएर त्यहाँका जिल्लाहरुमा हुनसक्ने अवाञ्छित गवितिविधिहरु हुन/गर्न नदिन सम्बन्धित निकायसँग समन्वय गरी कानून विपरीतका कार्य भए/गरेको पाइएमा संलग्नताहरुलाई कानूनी दायरामा ल्याउने व्यवस्था हुन आदेशानुसार अनुरोध छ ।’

गृह मन्त्रायलका सूचना अधिकारी प्रेमलाल लामिछाने भने शान्ति सुरक्षामा खलल पुग्ने विषयमा संवेदनशील भएर हेर्नू भनेर परिपत्र जारी हुनु सामान्य विषय भएको बताउँछन् ।

गत ३ भदौमा राति खाना खान बसेका बेला पुजारी साहको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए । प्रकरणको एक साता वितिसक्दा पनि प्रहरीले अनुसन्धानमा कुनैै महत्वपूर्ण सफलता हात पार्न नसकेको भन्दै अहिले नागरिकले विरोध जनाइरहेका छन् ।

अनुसन्धानमा प्रहरी गम्भिर नभएको आरोप लागिरहेका बेला गृहको सर्कुलर सार्वजनिक भएपछि नागरिक आक्रोश बढेको छ ।

यो पनि पढ्नुहोस अझै पत्ता लागेन पुजारीको हत्यारा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment