Comments Add Comment

पर्साको निषेधाज्ञा अब वीरगञ्जमा सीमित

फाइल तस्वीर

१२ भदौं, वीरगञ्ज । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सामा जारी निषेधाज्ञा अब वीरगञ्ज महानगरपालिका मात्रै सीमित गरिएको छ ।

जिल्ला सुरक्षा समिति र संकट व्यवस्थापन केन्द्रको बैठकले भदौं १८ गते मध्यरातिसम्म वीरगञ्जमा मात्रै निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा बसेको बैठकले निषेधाज्ञा वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र मात्रै सीमित गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्जमा साउन १० गतेदेखि नै निषेधाज्ञा छ । साउन १९ गतेबाट भने पर्सा जिल्लाभर निषेधाज्ञा लगाइएको थियो ।

साउन ३१ गतेको निर्णयबाट सेना परिचालनसहित भदौं १३ गते बिहान ५ बजेसम्मका लागि निषेधाज्ञा लगाइएको थियो ।

लामो समयदेखिको निषेधाज्ञा जनजीवन आक्रान्त छ । सुरुका दिनमा जस्तो निषेधाज्ञा कडाइका साथ पालना पनि हुन सकिरहेको छैन । पछिल्लो निषेधाज्ञामा सेना परिचालन गरिए पनि तीन दिनपछि सेनापछि हटेको थियो ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार जारी गरेको सूचनामा भदौं १९ गतेपछि गर्न नहुने क्रियाकलपाहरु समेत उल्लेख गरिएको छ ।

भदौं १९ गतेदेखि बजार खोल्न समय निर्धारण

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भदौं १८ गतेसम्म मात्रै निषेधाज्ञा लगाउने भनिएको छ । तर भदौं १९ गतेदेखि पूर्णरुपमा बजार खोल्न भने निषेध गरेको छ ।

भदौं १९ गतेदेखि वीरगञ्ज बजार क्षेत्रका पसलहरु उद्योग वाणिज्य संघको समन्वयमा आईतबार, मंगलबार र बिहीबार बाटोको एकातर्फका र सोमबार, बुधबार, शुक्रबार बाटोको अर्को तर्फका पसलहरु बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खोल्न र शनिबार बन्द गर्न भनिएको छ ।

तरकारी तथा फलफूल बिक्री वितरणको लागि भदौं १९ गतेबाट नै प्रत्येक दिन रेल्वे रोडको तोकिएका स्थानमा बिहान ५ देखि ८ बजेसम्म मात्रै निर्धारण गरिएको छ ।

ल सञ्चालन र तरकारी तथा फलफूल बिक्री गर्दा सामाजिक दुरीलगायतको मापदण्ड पालना नगरेको खण्डमा संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।

पर्सा जिल्लासँग सीमा जोेडिएका भारत तथा बारा जिल्लाको सीमाना ईनर्वा, सिर्सिया, तिलावे र परवानीपुर लगायतका ठाउँमा सुरक्षा व्यवस्था कडा पार्दै अनावश्यक आवागमन बन्द गर्ने, ‘नो मास्क नो मुभ’ अभियान सञ्चालन गर्ने निर्णय पनि सुरक्षा समिति र संकट व्यवस्थापन केन्द्रले गरेको छ ।

उद्योगले नै क्वारेन्टिन र आइसोलेसन व्यवस्था गर्नुपर्ने

औद्योगिक प्रतिष्ठानरुमा हुन सक्ने संभावित संक्रमण नियन्त्रण पनि स्थानीय प्रशासनले कदम चालेको छ । त्यहाँबाट हुन सक्ने संक्रमण विस्तारलाई रोकथाम गर्न सुरक्षा तथा स्वास्थ्यस सम्बन्धी मापदण्ड अनिवार्यरुपमा पालना गर्न लगाउने, कर्मचारी तथा कामदारहरुलाई आवश्यक क्वारेन्टिन र ंसंक्रमण देखिएमा आइसोलेसन सेन्टरसमेतको व्यवस्था गर्नुपर्ने सूचनामा उल्लेख छ ।

अनुगमनका क्रममा उद्योगले मापदण्ड पुरा नगरेको खण्डमा कारबाही र सिलबन्दीसमेत गर्न सक्ने प्रशासनले जनाएको छ ।

अति गरीब विपन्न, दैनिक ज्यालादारी गरी जीवीकोपार्जन गर्ने नागरिकलाई औचित्य र आवश्यकताके आधामार राहत उपलब्ध गराउने, चामल दाल, नुन, तेल जस्ता खाद्य सामग्रीको थैली तयार गरी वितरणको प्रबन्ध महानगरपालिकाले मिलाउने ।

कन्ट्याक्ट ट्रेसिङमा वडाध्यक्ष नेतृत्वको टिम परिचालन हुने

कन्ट्याक्ट ट्रेसिङलाई थप सहज बनाउन वीरगञ्ज महानगरभित्रका वडामा वडा अध्यक्षको संयोजकत्वमा स्थानीय स्वास्थ्यकर्मीहरुलाई परिचालन गर्ने, नेपाल प्रहरीले सहयोग र सहजीकरण गर्ने निर्णय भएको छ ।

पछिल्ला दिनमा महानगरपालिकाले खासै सहयोग नगरेपछि प्रहरीले नै कोभिड-१९ टास्क फोर्स बनाएर कन्ट्याक्ट ट्रेसिङको काम गरिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट खटिएर आएका चिकित्सक, माइक्रोबायोलोजिष्टलगायतका स्वास्थ्यकर्मीलाई कोभिड-१९ संक्रमितको उपचारमा खटाईने, नारायणी अस्पतालले रोटोर डिस्क ७२ वेल तत्काल इन्स्टल गरी प्रयोगमा ल्याउने, सुख्खा बन्दरगाह, एकीकृत जाँच चौकीबाट हुने मालबस्तुको ढुवानी, चालक, सह चालक, भरिया, कामदार, सवारी साधनको सम्पूर्ण व्यवस्थापन सम्बन्धित भन्सार कार्यालयले गर्ने, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत कोभिड-१९ नियन्त्रण/व्यवस्थापन सम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment