Comments Add Comment

भरतपुरको बागेश्वरीमा ७५ बेडको आइसोलेसन केन्द्र

१४ भदौ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको बागेश्वरी आश्रममा कोरोना भाइरस संक्रमितलाई राख्न आइसोलेसन केन्द्र तयार पारिएको छ ।

योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा ७५ बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको हो । भरतपुर महानगरपालिकाले प्राकृतिक चिकित्सालयसँग सहकार्य गरेर सञ्चालन गरेको आइसोलेसन केन्द्रको मेयर रेनु दाहालले आइतबार सुुभारम्भ गरिन् ।

पुरानो मेडिकल कलेज भरतपुरले झण्डै दुई दशकअघि बनाएको होस्टलका क्वार्टरलाई मर्मत सम्भार गरी आइसोलेसन सेन्टर तयार गरिएको हो । ५ वटा ब्लकमा तयार आइसेलेसन केन्द्रको एउटा ब्लकमा १५ जना अटाउँछन् ।

आवश्यकता अनुुसार पछि बेड थप्न सकिने पनि महानगरपालिकाले जानकारी दिएको छ । बन्द भएको भरतपुर कोरोना अस्थायी अस्पतालबाट बेड र शौचालयका सामग्री यस आइसोलेसनका लागि लगिएको छ ।

आइसोलेसनको मर्मत सम्भार र त्यहाँ राखिने संक्रमितको खाना खर्च भरतपुर महानगरपालिकाले व्यहोर्नेछ । अहिलेसम्म यसको तयारीका लागि खर्च कति भयो भन्ने विवरण महानगरपालिकामा आइनसकेको महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले बताए ।

आइसेलेसन केन्द्रको आन्तरिक व्यवस्थापन र संक्रमितलाई योग, ध्यान तथा अन्य आवश्यक उपचार चिकित्सालयले गर्नेछ । अन्य प्राविधिक पक्षमा भरतपुर अस्पतालले सहयोग गर्नेछ । लक्षण नभएका कोरोना संक्रमितलाई यहाँ ल्याएर राख्ने योजना महानगरको छ । यो आइसोलेसन व्यवस्थापनमा समन्वय गर्ने जिम्मा वडा नं. १० का वडाध्यक्ष अरुणपीडित भण्डारीलाई तोकिएको छ ।

आइसोलेसनमा बस्नेहरुलाई योगध्यान गराइने चिकित्सालयले बताएको छ । आइसोलेसनमा १५ जना स्वास्थ्यकर्मी खटिनेछन् ।

चितवनको पूर्वका चार नगरपालिका र माडी नगरपालिकाले आ–आफ्ना आइसोलेसन केन्द्र यसअघि नै तयार गरी सञ्चालनमा ल्याइसकेका छन् । चितवनमा कोरोना भाइरस संक्रमितको संख्या ६ सय २६ पुगेको छ । सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा संक्रमित भएका छन् भने इच्छाकामनामा सबैभन्दा कम छन् ।

भरतपुर महानगरपालिकामा ३६८, खैरहनी नगरपालिकामा ४३, माडी नगरपालिकामा ५०, रत्ननगरमा नगरपालिकामा ८१, राप्ती नगरपालिकामा ७६, कालिका नगरपालिकामा ५ र इच्छाकामना गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment