Comments Add Comment

ट्रम्प हिंसा भड्काउने विषालु नेता : बाइडन

१६ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हिंसा भड्काउने विषालु नेता भएको आरोप लगाएका छन् ।

बाइडनले ट्रम्प कमजोर तथा विषालु हुनुका साथै उनले मुलुकमा हिंसा भड्काएको आरोप लगाएका हुन् । निर्वाचन प्रचारको क्रममा रहेका बाइडनले पेन्सिलवेनियामा बोल्दै डोनाल्ड ट्रम्पको शासनकालमा अमेरिकाले धेरै समस्याको सामना गरिरहेको र यी समस्या बढ्दै गइरहेको बताए ।

अमेरिकाका केही सहरमा जारी अशान्तिलाई लिएर ट्रम्प र बाइडनको बीचमा वाकयुद्ध चलिरहेको छ । उनीहरुले यसलाई एकअर्कालाई दोषी मान्दै आएका छन् । ट्रम्पले यो निर्वाचनको लागि ‘कानुन र व्यवस्था’लाई आफ्नो मुख्य मुद्दा बनाएका छन् ।

साथै बाइडनले पनि सोही मुद्दामा ट्रम्पको कमजोरी खोज्ने प्रयास गरिरहेका छन् । ट्रम्पले भने बाइडनले दंगा फैलाउने मानिसको सट्टामा प्रहरीलाई दोष दिइरहेको आरोप लगाउँदै आएका छन् ।

बाइडनले ट्रम्पले यसअघि नै मुलुकको नेतृत्व गर्ने नैतिक आधार गुमाएको दाबी गरेका छन् । ट्रम्पले लामो समयदेखि मुलुकमा हिंसा भड्काउँदै आएकाले अब उनले हिंसा रोक्न नसक्ने बाइडनले दाबी गरे । उनले प्रश्न गरे, ‘कसैलाई ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्दा अमेरिकामा हिंसा कम हुन्छ भन्ने लाग्छ ?’

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment