Comments Add Comment

भारतीय अर्थतन्त्रमा भारी गिरावट, जीडीपी २४ प्रतिशतले घट्यो

पूर्ववित्तमन्त्री चिदम्बरम भन्छन् : मोदी सरकार असफल भयो

१६ भदौ, काठमाडौं । कोरोनाको महामारीले छिमेकी देश भारतको अर्थतन्त्रमा गहिरो चोट लागेको छ । भारतको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको रिपोर्ट अनुसार भारतको कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) २३.९ प्रतिशतले घटेको छ, जुन अहिलेसम्मकै ठूलो गिरावट हो ।

सरकारले सोमबार प्रकाशित गरेको प्रतिवेदनमा लकडाउनका कारण धेरै उद्योगधन्दाहरु बन्द रहनाले अर्थतन्त्रमा गम्भीर असर परेको उल्लेख छ । जनवरीदेखि मार्चसम्मको अवधिमा कुल ग्रार्हस्थ उत्पादन ३.१ प्रतिशतमा खुच्चिएको छ । जबकी गत वर्षको यही अवधिमा अर्थतन्त्रको वृद्धिदर ५.२ प्रतिशत थियो ।

भारतले सन् १९९६ देखि त्रैमासिक प्रतिवेदन प्रकाशित गर्न थालेयता अर्थतन्त्रको यति खराब चित्र पहिलोपटक देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कोरोनाले अर्थतन्त्रलाई प्रभावित गरेको सबैले बुझेका छन् । तर, विश्लेषकहरुले यो स्तरको गिरावट अनुमान गरेका थिएनन् । खास गरी निर्माण तथा उत्पादन क्षेत्रको गिरावट चिन्ताजनक देखिएको छ । उत्पादन क्षेत्र ३९.३ प्रतिशतले र निर्माण क्षेत्र ५०.३ प्रतिशतले ओरालो लागेको छ । सबैभन्दा कम असर परेको क्षेत्र चाहिँ कृषि हो ।

 

पहिलो त्रैमासिकमा कुल मूल्य अभिवृद्धि (जीभीए) अंकमा २२.८ प्रतिशतको न्यूनता देखिन्छ । प्रमुख आर्थिक सल्लाहकार केभी सुब्रमनियनले पीटीआईसँग भने, ‘पहिलो त्रैमासिकको आँकडाले कोरोनाका कारण उत्पन्न विश्वव्यापी संकटलाई प्रतिबिम्बित गर्छ, यो एक शब्ताब्दीमा एकपटक आउने अवस्था हो जसबाट विश्वका अधिकांस राष्ट्रहरु गुज्रिरहेका छन् ।’

लकडाउन खुकुलो भएपछि अर्थतन्त्रमा ‘भी’ आकारको देखिन थालेको उनले दावी गरे । तर, भारतमा कोरोनाबाट अत्यधिक सताइएका राज्यहरुले अझै पनि कुनै न कुनै रुपमा लकडाउन जारी राखेका छन् । त्यसैले अर्थतन्त्रको तत्काल पुनरुत्थान सम्भव नदेखिएको अर्थशास्त्रीहरु बताउँछन् ।

कोरोनाबाट थलिएको अर्थतन्त्रलाई उकास्न सरकारले २० लाख करोडको ‘आत्मनिर्भर भारत’ नामक प्याकेज घोषणा गरेको थियो । तर यसले खासै अर्थतन्त्रको संकटमोचन गर्न नसक्ने टिप्पणी गरिएको छ ।

यसका अतिरिक्त रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले मार्चदेखि ब्याजदरमा ११५ बेसीसी प्वाइन्ट (वीपीएस) ले कटौति गरेको छ । यसै महिनाको सुरुवातमा आरबीआईले द्वैमासिक नीति ल्याएको थियो जसमा उसले चालु आर्थिक वर्षभरि नै कोरोनाको प्रहार अर्थतन्त्रले खेप्नुपर्ने प्रष्ट ईंगित गरिएको छ ।

अर्थतन्त्रमा केही चाँदीका घेरा पनि देखिएका छन् । मनसुनी वर्षात राम्रो भएपछि त्यसको सकारात्मक प्रभाव कृषि उत्पादनमा परेको छ । कृषि र मत्स्यपालनमा ३.४ प्रतिशतको वृद्धि देखिएको छ, जुन अपेक्षाभन्दा राम्रो हो ।

त्यसो त कोरोनाको प्रवेश अगाडि नै भारततीय अर्थतन्त्र ओरालो यात्रामा थियो । आर्थिक वर्ष २०१९–२० को तेस्रो त्रैमासिकमा कुल ग्रार्हस्थ उत्पादनको वृद्धिदर ४.१ प्रतिशतमा खुम्चिएको थियो ।

चिदम्बरम भन्छन् : सरकार असफल

भारतका पूर्ववित्तमन्त्री तथा कांग्रेस आईका नेता पी चिदम्बरमले अर्थतन्त्रको कमजोर अवस्थाका लागि सरकारलाई दोष दिएका छन् । कोरोनाको महामारीलाई सरकारीले सही ढंगबाट सामना गर्न नसकेको उनको आरोप छ । बीबीसीसँगको कुराकानीमा उनले जीडीपीमा आएको गिरावटबाट आफू अचम्मित नभएको बताए ।

‘हामीले सरकारलाई पहिल्यै चेतावनी दिएका थियौं । संसारभरका अर्थशास्त्रीले भारतलाई झक्झक्याएका थिए । तीन दिन अगाडि मात्रै आरबीआईले आफ्नो प्रतिवेदनमा यसको संकेत गरेको थियो,’ उनले भने ।

प्रधानमन्त्री र अर्थमन्त्रीबाहेक हरेक व्यक्ति भारतको अर्थव्यवस्थामा उत्पन्न भएको संकटका विषयमा जानकार भएको भन्दै उनले व्यंग्य गरे ।

उनी भन्छन्, ‘सिंगै देशले यसको मूल्य चुकाइरहेको छ । गरीबहरु निराशामा छन् । तर, मोदी सरकार भने निश्चिन्त भएर बसिरहेको छ, मानौं उसलाई कुनै परवाह छैन । सरकारले एउटा झुटो कथा रचेको थियो, जसको वास्तविकता अहिले बाहिर आयो ।’

महामारीले अबका दिनहरु निकै कठिन हुने चिदम्बरमको अनुमान छ । विश्वका कुनै पनि मुलुक महामारीको प्रभावबाट अछुतो नहुने तर यसबाट कति चाँडो बाहिर निस्किने भन्ने कुरा सरकारको कार्यशैलीमा भरपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment