Comments Add Comment

मल किन्न महाभारत, कोरोनालाई गिज्याउने भीड

चितवनका किसान भन्छन्- मल पाउन महाभारत नै लड्नुपर्ने जस्तो छ

१७ भदौ, चितवन । कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले भदौ १९ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा घर बाहिर ननिस्कन प्रशासनले अनुरोध मात्र गरेको छैन, भेटे कारर्वाहीसमेत गर्ने चेतावनी दिएको छ । उता, यहीबेला किसानलाई खेतमा हाल्ने रासायनिक मल लिनैपर्ने चटारो छ ।

मलका लागि सहकारीहरुमा लामो लाइन र भीडमा बस्नु किसानको बाध्यता हो । तर, यो भीडले कोरोनालाई गिज्याइरहेको छ ।
पश्चिम चितवन र पूर्वी चितवनका विभिन्न सहकारी अगाडि हिजोआज यस्तै ठूला भीडहरु देखिन्छन् । बुधवार पनि पश्चिम चितवनको गीतानगरस्थित सर्वोदय बहुउद्देश्यीय सहकारीमा सयौं किसानहरू कोरोनाको त्रास मनमा लिएर मल लिने लाइनमा बसेका छन् । ठेलमठेल भीड गर्दै सहकारीले मल बाँडिरहेको दृश्यले संक्रमणको अवस्था भयावह बनाउन सक्ने त्रास जन्माएको छ ।

सर्वोदय बहुउद्देश्यीय सहकारीले ११० बोरा मल प्रतिकिसासन १० किलोको दरले ५५० जनालाई वितरण गरेको जनाएको छ । मल लिन आएका झण्डै ५ सयभन्दा बढी किसान यसै फर्किएको सहकारीका व्यवस्थापक राधाकृष्ण आचार्यले जानकारी दिए ।

चितवन जिल्लामा कोरोना संक्रमितको संख्या ८ सय नजिक पुगेको छ । चितवनमा सबैभन्दा बढी संक्रमण भरतपुर महानगरपालिकामा छ । सबैजसो वडा संक्रमणबाट मुक्त छैनन् ।

‘किसानहरुलाई सकभर भिड नगरौं त भनेको हो, तर सकिएन,’ व्यवस्थापक आचार्यले भने, ‘आवश्यकताभन्दा ठूलो कुरा केही रहनेछ, रोगभन्दा ठूलो भोक रहेछ ।’

उनले मल पाए फेरि आइतबार वा सोमबारतिर बाँकी किसानलाई विक्री गरिने बताए । यस्तो भिडभाडका साथ बाँड्दा कोरोनाको जोखिम हुँदैन त भन्ने प्रश्नमा व्यवस्थापक आचार्यले भने, ‘जोखिम त हुन्छ, डर त छ नि, तर के गर्नु नगरी नहुने पनि छ ।’

कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले मल बाँड्दा भौतिक दूरी कायम गरेर मात्रै बाँड्न सहकारीहरुलाई निर्देशन दिइएको भए पनि त्यसको पालना नभएको बताए ।

सकभर पाँच-पाँच किलोको पोका बनाएर किसानलाई बोलाउँदै दिनुस् भनेका हौं, तर उहाँहरुले त्यसो गरेको पाइएन,’ ढकालले भने, ‘जतिसुकै प्रयास गरे पनि सकिएन, कोरोनाको जोखिम त हुने नै भयो ।’

चितवन जिल्लामा २७ हजार चार सय ४५ हेक्टरमा धान खेती हुँदै आएको छ । यतिबेला किसानका खेतमा धान पसाउने बेला भएको छ । अबको १५ दिनमा धान निस्कन्छन् । त्योभन्दा अगाडि नै मल हाल्न सके उत्पादन राम्रो हुने थियो भन्ने आशा किसानको छ । तर, मल पाउन भने कोरोनाको डर लिएर महाभारत नै लड्नुपर्ने जस्तो अवस्था छ ।

कति चाहिन्छ चितवनका किसानलाई मल ?

चितवनमा प्रत्येक वर्ष १५ हजार मेटि्रक टन मल आवश्यक पर्छ । माग हरेक वर्ष बढ्दै गएको छ । माग अनुसारको आपूर्ति छैन । यस वर्ष कोरोनाले गर्दा तरकारी किसानले समेत धान रोपेकाले मलको माग अन्य वर्षको भन्दा यसपटक बढी छ ।

बजारमा युरिया किन्न पनि खासै पाइँदैन । केही किसानले भारतबाट कालोबजारीमा आएको मल महँगोमा किनेरसमेत हालेका छन् । केहीले किनेर चिनी मल हालेका छन् ।

धानको सिजनमा जिल्लामा २१ सय मेट्रिक टन यूरिया आवश्यक हुन्छ । तर, साउनयता जम्मा २२० मेटि्रक टन मात्रै यूरिया चितवन आएको कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले बताए । उनी भन्छन्, ‘विहान उठ्ने बेलादेखि राति सुत्दासम्म मलको चिन्ता र तनावमा नै छौं ।’

जिल्लामा कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले मल बाँड्दै आएका छन् । अघिल्लो वर्ष यूरिया बाँडेको कृषि सामाग्री कम्पनी लिमिटेडमा यस वर्ष मल आएको छैन । मल आउने सम्भावना पनि निकै कम रहेको कृषि सामाग्री कम्पनी लिमिटेडका प्रमुख रविन्द्र गौतमले बताए ।

गौतमका अनुसार कम्पनीले साउनमा एक हजार र भदौमा एक हजार मल बाँड्ने योजना बनाएको थियो । तर, एक दाना पनि मल कम्पनीमा आएको छैन । अघिल्लो वर्ष १४७ सहकारीमार्फत यो समयमा १५० मेटि्रक टन मल कम्पनीले किसानलाई बाँडेको थियो ।

जिल्लामा विगत ६ वर्षदेखि साल्ट ट्रेडिङ कर्पोरेशनले पनि मल वितरण गर्दै आएको छ । कूल मागको ३० प्रतिशत मल उसले वितरण गर्छ ।

कर्पोरेशनका चितवन शाखा प्रमुख बुद्धिविनोद दाहाल किसानहरूको माग अनुसार युरिया मल पुर्‍याउन नसकिएको बताउँछन् । ‘सरकारी अनुदानको मल लिन किसानहरुले लालायित छन् तर उहाँहरुको माग अनुसार हामी आपूर्ति गर्न सक्दैनौं,’ दाहालले भने, ‘साउन र भदौमा बढी युरिया चाहिन्छ, यहीबेला हामीसँग स्टक हुँदैन, नयाँ बजेट अनुसार किन्न पनि सकिदैन ।’

झण्डै ४० रुपैयाँ प्रतिकेजी पर्ने यूरिया मल सरकारी अनुदानमा जम्मा १५ रूपैयाँ किलोमा किसानले पाउने गरेका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेशनले यस वर्ष साउन महिनामा जिल्लामा १३५ सहकारी मार्फत जम्मा ४७५ मेटि्रक टन यूरिया वितरण गरेको छ । कर्पोरेशनले अघिल्लो वर्ष ८५९ मेटि्रक टन मल यो अवधीमा वितरण गरेको थियो । बाँकी २ सयदेखि ३०० मेटि्रक टन मल अवको १५ दिनभित्र आउने कर्पोरेशनका चितवन प्रमुख दाहालको भनाइ छ ।

कर्पोरेशनले यस वर्ष ३९० मेटि्रक टन डीएपी र ४२७ मेटि्रक टन पोटास वितरण गरेको प्रमुख दाहालले जानकारी दिए । किसानहरुलाई एमोनियम सल्फेट मल ५३५ मेटि्रक टन यसअघि नै बेचिएको उनले बताए ।

आपूर्तिमै समस्या

चितवनमा मात्रै होइन, हरेक वर्ष मलको आपूर्ति देशभरकै समस्या बन्दै आएको छ । तर सरकार हरेक वर्ष मल अभावको समस्या समाधान गर्न तत्परता देखाउँदैन । सरकारले किसानहरुको मागभन्दा निकै कम मात्रै मल अनुदानमा ल्याउने गर्छ ।

कृषि मन्त्रालयले देशभर साढे ७ लाख मेटि्रक टन मलको माग रहेको बताउँदै आएको छ । तर, मन्त्रालयले पाँच लाख कार्यक्रम बनाउँदै आएको छ ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले माग र आपूर्तिको सन्तुलन नमिल्दा यो राष्ट्रिय समस्या बनेर आएको बताए । एकातिर खरिद प्रकृयामा र अर्कोतिर स्टोरेजमा समस्या भएको प्रमुख ढकाल बताउँछन् ।

जेठ १५ मा बजेट आए पनि पास भएर सरकारी प्रकृया अनुसार मल किन्न समय लाग्छ । तर, यही समयमा नै किसानका लागि मल चाहिन्छ ।

नेपालमा पछिल्लो समयमा व्यवसायिक कृषि कर्म गर्ने क्रम बढेसँगै मलको माग पनि बढेको कृषि सामाग्री कम्पनी लिमिटेड चितवन शाखा प्रवन्धक रविन्द्र गौतम बताउँछन् ।

तर, जहिले पनि मागअनुसार मल आपूर्ति हुन सकेको छैन । प्रवन्धक गौतमका अनुसार जिल्लामा १० हजार मेटि्रक टन मात्रै मल आपूर्ति हुँदै आएको छ । चितवनमा हरियो मकै, केरा, तरकारी उत्पादन बढी हुन थालेकाले आपूर्ति बढाउन प्रस्ताव गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment