Comments Add Comment

सिन्धुपाल्चोकका पहिरो पीडितलाई एनआरएनएको ५ लाख सहयोग

१७ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ स्थित लिदीका पहिरो पीडितलाई पाँच लाख आर्थिक सहयोग गरेको छ ।

पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहका बीच संघका उपाध्यक्ष सोनाम लामाले गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामालाई संयुक्तरुपमा रकम हस्तान्तरण गरेका हुन् ।

उपाध्यक्ष लामाले वर्तमान कोभिड-१९ को विषम परिस्थितिमा विश्वभर बस्ने गैरआवासीय नेपाली पनि प्रभावित भएको बताउँदै अहिलेलाई थोरै राहत लिएर भावना साट्टासाट्टा गर्न मात्र आएको बताए ।

गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले गैरआवासीय नेपाली संघलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा ठोस योजना बनाएर सहकार्य गरी अगाडि बढ्न तयार रहेको बताए ।

कार्यक्रममा एनआरएनएको तर्फबाट बहराइनका पूर्वअध्यक्ष श्याम तामाङ, जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङ र पीडितहरुको सहभागिता थियो ।

जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पूर्णरुपमा क्षति पुर्‍याउँदा १५६ भन्दा बढी व्यक्तिहरु प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment