Comments Add Comment

गण्डकीका प्रदेश सांसदलाई कोरोना, मन्त्रीहरु कन्ट्याक्ट ट्रेसिङमा

१९ भदौ, पोखरा । गण्डकी प्रदेश सभाको विधायन समिति सभापति मोहन रेग्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाबाट निर्वाचन सांसद रेग्मीलाई बिहीबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेपछि रेग्मीको स्वाब परीक्षण गरिएको थियो ।

बुधबार नेपाल प्रहरीको सशस्त्र प्रहरी गणका २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सांसद रेग्मीले गणका प्रमुख लगायतसँग सँगै खाना खाएका पाइएपछि उनको पनि स्वाब संकलन गरिएको थियो ।

विधायन समिति सभापति रेग्मीले अनलाइनखबरसँग भने, ‘कोरोना संक्रमण पुष्टि भएको खबर आएको छ ।’

जो कोहीलाई पनि कोरोनासँग लड्नुपर्छ भनेर तयार हुनुपर्ने रेग्मीको भनाइ थियो ।

सभापति रेग्मीले कामका सिलसिलामा धेरै जनाको सम्पर्कमा रहेको र उनीहरुलाई नआत्तिई सुरक्षित भएर रहन आग्रह गरे । ‘मलाई कोरोनाको लक्षण देखिएको छैन । कोठमै बसिरहेको छु,’ रेग्मीले भने, ‘ कोरोनासँग एक दिन लड्ने दिन आउँछ भनेर तयार पनि थिएँ ।’

रेग्मीले स्वाब दिएपछि पनि मन्त्रीदेखि विभिन्न व्यक्तिसँग भेटघाट गरेको पाइएएको छ । विधेयकमाथि छलफल गर्न पनि उनी सामाजिक विकास मन्त्री नरदेवी पुनको क्वार्टरमा पुगेका थिए । उनी भौतिक पूर्वाधारमन्त्री, पर्यटनमन्त्री लगायतसँग पनि सम्पर्कमा पुगेको पाइएको छ ।

सभापति रेग्मी बुधबारमात्र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेट्न मुख्यमन्त्रीको कार्यालय पुगेका थिए । मुख्यमन्त्री अर्को बैठकमा भएकाले नभेटी फर्किएको स्रोतले जानकारी दिएको छ ।

सांसदलाई संक्रमण देखिएपछि उनलाई होम आइसोलेसन वा कोभिड उपचार केन्द्रको आइसोलेसन लैजाने भन्ने छलफल भइरहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखाका हरिलाल आचार्यले कन्ट्याक्ट टेसिङका लागि तयारी भइरहेको बताए ।

‘पहिले उहाँको सम्पर्कमा आएकाहरुको लिस्ट तयार हुन्छ । सम्पर्कमा आएकाहरुलाई घरमै सुरक्षित भएर बस्न आग्रह गर्छौं,’ आचार्यले भने, ‘संक्रमितको सम्पर्कमा हुनेबित्तिकै आत्तिएर स्वाब टेस्ट गर्न दौडिइहाल्नु पर्दैन । अवस्था हेरि सबैको क्रमैसँग स्वाब परीक्षण हुन्छ ।’

गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ हजार २ सय ७७ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment