
१८ भदौ, काठमाडौं । ललितपुर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाकाबीच सुरु भएको रातो मत्स्येन्द्रनाथको रथयात्रा रोक्ने बताएको छ ।
बिहीबार बिहान साढे ९ बजेदेखि युवाहरूले स्वतस्फूर्त रूपमा सुरु गरेको रथयात्रालाई तितरबितर बनाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।
उनले अनलाइनखबरसँग भने ‘रथयात्रा, जात्रापर्व जस्तो धेरै मान्छे भेला हुने पर्व निषेध गरेकोले रथयात्रा हुन सक्दैन । हामी भिडलाई तितरबितर बनाउने तयारीमा छौं ।’ ललितपुरमा बिहीबारदेखि निषेधाज्ञा तेस्रो सातामा प्रवेश गरेको छ । गत असार १० गते बनाइएको रातो मत्स्येन्द्रनाथको रथारोहण भइसकेपछि पनि रथयात्रा भने रोकिएको थियो ।
अहिलेको रथयात्रामा सरोकारवाला निकायले भने आफूलाई जानकारी नभएको बताएका छन् । ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले रथयात्रामा कसको आग्रहमा यति धेरै मान्छे जम्मा भयो भन्ने बारेमा आफूलाई जानकारी नभएको अनलाइनखबरसँग बताए ।
प्रमुख जिल्ला अधिकारी भट्टले आफूलाई पनि रथयात्राबारे पूर्व जानकारी नदिएको बताए ।
प्रतिक्रिया 4