
१८ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा होटल तथा रेष्टुरेन्टले खानेकुरा उत्पादन गरी टेक अवे तथा होम डेलिभरीमार्फत ग्राहकसमक्ष पुर्याउन पाउने भएका छन् ।
उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेध आदेशको समयमा अत्यावश्यक वस्तु तथा सेवा होम डेलिभरी गर्नेसम्बन्धी मादपण्ड निर्माण गरी उक्त मापदण्ड पालना गर्ने गरी होम डेलिभरी र टेक अवे सेवा सञ्चालन गर्न अनुमति दिएको छ ।
अब रेष्टुरेन्टहरुले ग्राहकको अर्डर अनुसार घरमै खानेकुरा पुर्याइदिने गरी आफ्नो सेवा सञ्चालन गर्न पाउनेछन् । तर उनीहरुले दिउँसो १ बजेदेखि बेलुकाको ७ बजेसम्म मात्रै होम डेलिभरी र टेक अवे सेवा सञ्चालन गर्न पाउनेछन् ।
त्यस्ता सेवा दिन चाहने व्यवसायीले टेक अवेको साधन तथा होम डेलिभरीकर्ताको नाम, सम्पर्क नम्बर र प्रयोग गर्ने सवारी साधनको नम्बर प्रशासन कार्यालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र ट्राफिक प्रहरी महाशाखामा बुझाउनुपर्नेछ ।
होम डेलिभरी गर्ने वा टेक अवे सेवा दिने व्यक्तिको पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ हुनुपर्नेछ भने ग्राहकलाई सामान दिँदा २ मिटरको दूरी कायम गर्नुपर्नेछ ।
मापदण्डमा होम डेलिभरी गर्न पाइने सामानको विवरण पनि उल्लेख गरिएको छ । जसमा खानेकुरा, बालबालिकाको अत्यावश्यक सामान, छाला तथा कपाल सुरक्षासम्बन्धी सामान, व्यक्तिगत सरसफाइका सामान, घरपालुवा जनावरका लागि चाहिने सामान, स्वास्थ्य सुरक्षाका लागि आवश्यक सामाग्री, औषधि र कृषिका मल विउ लगायतका सामानहरु रहेका छन् ।
निषेधाज्ञाको समयमा अघिल्लो हप्ता काठमाडौंमा अत्यावश्यक सामग्रीको होम डेलिभरी सेवा दिनेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । स्थानीय प्रशासनले होम डेलिभरी सेवा दिन नपाउने भनी उनीहरुलाई प्रतिबन्ध लगाएको थियो ।
तर निषेधाज्ञाको समयमा सर्वसाधारणले अत्यावश्यक सामग्री किन्न घरबाहिर निस्कन नपर्ने गरी होम डेलिभरी गर्न दिनुपर्ने भन्दै प्रशासनको निर्णयको आलोचना भएको थियो । त्यसपछि प्रशासन कार्यालयहरुले मापदण्ड बनाएर यो होम डेलिभरी र टेक अवे सेवा सञ्चालन गर्न दिएका हुन् ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, स्वास्थ्य कार्यालय र नेपाल प्रहरीका एक/एक जना प्रतिनिधि सहभागी समितिले मापदण्ड बनाएको हो ।
हेर्नुहोस् मापदण्ड
प्रतिक्रिया 4