
१८ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बिहिबार १८ जनामा संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको रिपोर्टअनुसार दैलेखका ७ जना, सुर्खेतका ६ जना, कालीकोट र दाङका दुई/दुईजना र बाँकेका एकजनामा संक्रमण देखिएको छ ।
बिहीबार दैलेखका कोरोना पुष्टि हुनेहरूमा नारायण नगरपालिका -१, का दुईजना महिला र दुई जना पुरुष रहेका छन । ढुङ्गेश्वर गाउँपालिका -२, का दुईजना पुरुष र महाबु गाउँपालिका-६, का एकजना पुरुष रहेका छन् ।
यसैगरी सुर्खेत वीरेन्द्रनगर वडा नं.-६, ९, ११ र १२ का तीन जना पुरुष, दुईजना महिला रहेका छन् । त्यस्तै चौकुने गाउँपालिका वडा नं.-१२, का एकजना पुरुष रहेको स्वास्थ्य महाशाखाले जनाएको छ । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २५६९ पुगेको छ ।
साथै, कर्णालीमा बिहीबार थप ७६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या २२०१ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ । हालसम्म ६ जनाको मृत्यु भएको छ भने ३६२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया 4