Comments Add Comment

ढोरपाटनमा भीषण बाढी, १२ जनाको मृत्यु ३५ जना बेपत्ता

१८ भदौ,  बागलुङ। यस वर्षको मनसुन उत्तरार्द्धतर्फ लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाका विभिन्न क्षेत्रमा भुजी खोलाले अकल्पनीय क्षति पुर्‍याएको छ ।

प्राप्त विवरण अनुसार अहिलेसम्म बाढीमा परेर ३५ बढी व्यक्ति बेपत्ता छन् । अन्य १२ जनाको शव फेला परेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धीरेन्द्रराज पन्तले पाहुना आएकासमेत परेको बुझिएकाले उद्धार र विवरण सङ्कलनको काम जारी रहेको जानकारी दिए ।

दुई दिनदेखि लगातार भारी वर्षा हुँदा खहरेसहित उर्लेर आएको भुजी खोलाले यहाँका तीन दर्जन बढी घर बगाएको छ । भारी वर्षा हुँदा ठूलो क्षति पुर्‍याउँछ भन्ने अनुमान लगाउँदा लगाउँदै जिल्लाले नसोचेको परिणाम बेहोरेको ढोरपाटन नगरपालिकाका उपप्रमुख करमती पुन मगर बताउँछिन् ।

सबै क्षेत्र बगरमा परिणत भएकाले बस्ती कुन ठाउँमा थियो भनेर यकिन गर्न नसकिने अवस्था रहेको उनले बताए ।

उपप्रमुख मगरले भनिन्, ‘बस्तीको नामो निशाना देखिँदैन, अहिले पनि बस्ती भएर खोला बगिरहेको छ, सबै सोहोरेर लगेको छ ।’ सडक, कुलो, गाउँबस्ती सबै क्षतविक्षत भएको उनले बताए ।

ठाउँठाउँमा पहिरोसमेत खसेको छ । उनले खोला थुनिएर फुटेपछि भीषण बाढीको रुप लिएको अनुमान गरे । तर कुन ठाउँमा भएको हो त्यो यकिन भने हुन सकेको छैन । गाउँ क्षेत्रमै भएका प्रहरी र सेनासहित स्थानीयवासीले उद्धार कार्य जारी राखेका छन् ।

जिल्लाको टोली केहीबेर अघि मात्रै पुगेको छ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले सडक बाटो सबै भत्काएकाले हिँडेर घटनास्थल पुगेको बताए । बुर्तिवाङ्बाट ढोरपाटनका लागि सवारीसाधन चल्ने सडक बाढी र पहिरोले क्षतविक्षत भएको उनले बताए । ‘केही प्रहरी, सेना तथा टोलवासीले उद्धार गरिरहेका छन्, हामीसँग उद्धारका लागि थप टोली छ, उद्धारकार्य प्रभावकारी बनाएका छौँ’,प्रजिअ न्यौपानेले भने । राहतसहित लिएर गएको गृहमन्त्रीसहितको टोलीसमेत घटनास्थल पुग्न नसकेकाले फर्किएको छ ।

घटनास्थलमा प्रत्यक्ष पुगेकी उपप्रमुख मगरले ढोरपाटन भन्दा तल्लो भेगको खोला किनाराका बस्तीमा क्षति भएको बताइन् । उनले यहाँको वडा–९ पूर्ण प्रभावित भएको र वडा नं ६,७, ८ मा समेत क्षति पुगेको बताइन् ।  धेरै मानवीय क्षति– ९ मा भएको छ । मुख्यगरी यहाँको फल्लेघर, सुपराङ, भुसुन्डे, सिदु, बगालेघर (घट्टबास), दुनापढेरा, लाखुरीबोटमा बढी क्षति भएको छ । खनेको नयाँ बाटोबाट निस्किएको लेदोसहित पहिरो खस्दा ठाउँठाउँमा सडक विग्रिएको छ । ‘लाँकुरीबोटको अवस्थ हेर्दा बस्ती पूरै बगर बनेकाले कुन ठाउँमा बस्ती थियो भन्नेसमेत पत्ता लगाउन सकिँदैन’, उपप्रमुख मगरले भनिन् ।

कुनै शव टाउको नभएको, कुनै हात नभएको, कसैको कम्बर नभएको अवस्थामा यत्रतत्र शरीरका अङ्ग बगरमा देखिएको उनले बताइन् । ‘अकल्पनीय घटना भएको छ, यस्तो घटनानी हुन्छ र भन्ने अवस्था छ, पीडादायी अवस्थालाई शब्दमा भन्न सकिँदैन’, मगरले दुःख पोखिन् ।

घटना बुधबार मध्यरातको हो । अविरल वर्षापछि भुजी खोला यसरी बस्तीमा पसेको हो । उक्त खोलामा अन्य खहरे र ठाडो खोलासमेत मिसिदा ठूलो रुप लिन पुगेको हो । सबै सुतेको बेला घटना भएकाले पनि बढी मानवीय क्षति भएको छ । दायाँबायाँ लछार्दै लगेपछि मानिसको राति नै भागाभाग भएको थियो । केही संयोगले बाँचे भने सुतिरहेका धेरै बगेका थिए । राति घटना हुँदा कतिले ऐयासमेत भन्न नपाएको स्थानीयवासीले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासी मौसम र भौगोलिक अवस्थाले बागलुङमा जस्ता धेरै घटना बेहोरिएको बताउँछिन् । ‘ठूलो वर्षा हुने नदेखाए पनि सानो क्षेत्रमा थोरै समयमा पनि धेरै पानी परेको हो’, उनले भनिन् ।

उनले सो क्षेत्रमा अघिल्लो दिन पानी परेको र त्यसको भोलिपल्ट मङ्गलबार पनि पानी परेको बताइन् । मौसमविद् सविना शाक्यका अनुसार ढोरपाटन नजिक राति बुर्तिवाङ् क्षेत्रमा ४१ मिलिमिटर पानी परेको देखिएको थियो । यसपटक बाढी पहिरोका कारण ३१७ जनाको मृत्यु भइसकेको छ ।

यो पनि पढ्नुहोस यस वर्ष बाढी पहिरोले २६२ को मृत्यु, ८ करोडभन्दा बढीको क्षति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment