Comments Add Comment

रुपन्देहीमा सात घण्टा पसल खोल्न पाउने गरी २८ गतेसम्म निषेधाज्ञा

सरकारी कार्यालय र बैंकहरु पनि खुल्ने

२० भदौ, बुटवल । उद्योगी–व्यवसायीका संगठनहरुले लकडाउन अवज्ञा गर्ने चेतावनी दिएपछि रुपन्देहीमा दैनिक सात घण्टा पसल–व्यवसाय सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा खुकुलो बनाइएको छ ।

शनिबार बसेको जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाभर बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म पसल–व्यवसाय खोल्न पाउने गरी भदौ २८ गते राति १२ बजेसम्म निषेधाज्ञा आदेश जारी गरेको हो ।

यसअघि भदौ २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएएको थियो । शुक्रबार बसेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले पनि लकडाउन खुकुलो बनाउन सिफारिस गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जारी गरेको निषेधाज्ञा आदेशमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर दैनिक सात घण्टा पसल–व्यवसाय सञ्चालन गर्न पाइने उल्लेख छ ।

मुख्य राजमार्गबाहेक जिल्लाभर सार्वजनिक र निजी सवारी साधन सञ्चालन गर्न र सभा, सम्मेलन, प्रदर्शन आदि गर्न पाइने छैन । डिपार्टमेन्टल स्टोर, सपिङ मल, होटेल, रेष्टुराँ आदि पनि सञ्चालन गर्न पाइने छैन । तर खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुका पसलहरु बिहान ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

सबै सरकारी कार्यालयहरु र बैंक तथा वित्तीय संस्थाहरुले भीडभाड नहुने गरी सुरक्षा मापदण्ड पालना गरेर सेवा प्रवाह गर्नसक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment