Comments Add Comment

नेपालमा किन पाइँदैन भनेजति इन्टरनेट स्पिड  ?

२० भदौ, काठमाडौं । नेपालमा इन्टरनेटको गति ज्यादै कमजोर छ । ग्राहकसँग सम्झौता गरेको जति इन्टरनेटको गति दिन सेवा प्रदायकहरु असफल छन् । इन्टरनेट चलाउँदा ब्राउजर फनफनी घुमेपछि ग्राहकले सेवा प्रदायकसँग गुनासो त राख्छन्, तर समाधान पाइहाल्दैनन् ।

आफूले भनेजति इन्टरनेटको स्पिड पाउनु ग्राहकको अधिकार हो । तर, यसमा सेवा प्रदायकले पनि धिमा गतिको इन्टरनेट सेवा दिने कम्पनीलाई कारवाही गर्न सकेको छैन ।

त्यसो त यसमा इन्टरनेट सेवा प्रदायक कम्पनीका पनि आफ्नै तर्कहरु छन् । सेवा प्रदायकहरु इन्टरनेटको गति ढिलो (स्पिड स्लो) हुनुमा आफूहरुको मात्रै कमजोरी नभएको दावी गर्छन् ।

प्रविधि पत्रकार मञ्च (टीजेएफ)नेपालले गरेको भर्चुअल अन्तरक्रियामा उनीहरुले विदेशबाट ल्याउने व्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एप लगायतमा आउने समस्याका कारणले गर्दा समेत इन्टरनेट स्लो हुन सक्ने बताए ।

अन्तरक्रियामा सुबिसु केवल नेट प्रालिका सीईओ विनयमोहन साउदले भारतका टाटा, एअरटेल लगायतका कम्पनीमा समस्या आउँदा, कुनै सेवा क्षमता भन्दा धेरै प्रयोग हुँदा र उपभोक्ताले प्रयोग गर्ने डिभाइसको गुणस्तर लगायतका कारणले पनि इन्टरनेट स्लो हुन सक्ने बताए ।

‘ग्राहकको गुनासो जायज नै हो, इन्टरनेट सेवा प्रदायकहरुले चर्को प्रतिष्पर्धाका कारण आफूसँग  भएको क्षमताभन्दा धेरै एमबीपीएस दिन्छु भनेका पनि हुन सक्छन्, तर धेरै समस्या हाम्रो कारणले मात्रै आएका हुँदैनन् । हामी त उपभोक्ता र सर्भर वा एपबीचको पूल मात्रै हौं । तीन वटा पक्षमध्ये एउटामा समस्या आयो भने इन्टरनेट स्लो हुन्छ, तर गाली खाने हामी मात्रै हुन्छौं,’ सीईओ साउदले भने ।

साउदले ग्राहकको गुनासो सम्बोधनका लागि सबै सेवा प्रदायकले काम गरिरहेको र यसमा आफूहरुको पहलले मात्रै  पुर्ण समाधान नआउने बताए ।

‘कुनै बेला फेसबुक, युट्युव, टिकटक लगायतका प्लेटर्फममै समस्या आएको हुन्छ । तर उपभोक्ताले इन्टरनेट सेवा प्रदायकलाई दोषी ठान्नुहुन्छ । हामीले फेसबुक, टिकटक, युटुबको समस्या समाधान गर्न सक्दैनौं,’ उनले अगाडि भने ।

यस्तै भायनेट कम्युनिकेसन प्रालिका प्रबन्ध निर्देशक विनय बोहोराले इन्टरनेट स्लो हुने उपभोक्ताको गुनासो कहिल्यै पनि अन्त्य नहुने बताए । ‘अहिले टिकटकको कारण नै इन्टरनेट स्लो भएको छ । भोलि यस्तै अर्को एप आउला । धेरे इन्टरनेट खपत गर्ने साइट आउला । त्यो बेला पनि इन्टरनेट केही स्लो हुन सक्छ । त्यसैले यसको गुनासो पूर्ण रुपमा समाधान हुन सक्दैन । हामीले कम गर्दै लैजाने हो,’ बोहोराले भने ।

अहिले ८० प्रतिशत इन्टरनेट खपत भिडियोेमै रहेको र यो बढ्दो क्रममा रहेकाले आउँदा दिनमा कसरी गुणस्तरीय इन्टरनेट दिने भन्ने विषय चुनौतीपूर्ण रहेको बोहोराको भनाइ छ ।

‘हामीकहाँ इन्टरनेटको खपत धेरै बढेपनि त्यसलाई व्यवस्थापन गर्ने पूर्वाधार र उपकरण छैनन्, व्यान्डविथ पनि विदेशबाट ल्याउनुपर्छ । हामीले भारतबाट किन्छौं । उता समस्या आएमा यता नेपालमा इन्टरनेट स्लो हुन्छ वा बन्द हुन्छ । त्यसमाथि नेपालको भौगोलिक विकटताले पनि समस्या पारेको हुन्छ,’ उनले भने ।

प्रबन्ध निर्देशक बोहराले ठूला प्लेटर्फमका सर्भर र एक्सचेञ्ज नेपालमा राख्न सकेमा इन्टरनेट सेवा प्रदायकलाई गरिने आलोचना केही कम हुने आशा व्यक्त गरे । कहिलेकाँही प्रतिस्पर्धाको नाममा इन्टरनेट सेवा प्रदायकबीच हुने अस्वस्थ प्रतिस्पर्धाका कारण पनि ग्राहकले गुणस्तरीय इन्टरनेट नपाएको हुन सक्ने बोहोराको स्विकारोक्ति छ ।

महामारीपछि समस्या  बढ्दै

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि भएको लकडाउन र निषेधाज्ञाको कारण सर्वसाधारण घरभित्रै बस्नुपर्दा इन्टरनेटको स्पिडमा थप समस्या भएको छ । विशेषगरी टिकटक, फेसबुक र युटुवका प्रयोगकर्ताको संख्या र चलाउने समय पनि बढेकाले इन्टरनेट पुर्‍याउन हम्मे हम्मे परेको सुबिसु केवल नेट प्रालीका सीईओ विनयमोहन साउदको भनाइ छ ।

लकडाउनपछि सुबिसु केवल नेटको मात्रै २२ देखि २५ जीबीपीएस व्यान्डविथको माग बढेको उनले जानकारी दिए । ‘लकडाउनअघि एउटा ग्राहकले महिनाभरमा झण्डै तीन सय जीबीपीएस इन्टरनेट खपत हुन्थ्यो । अहिले पाँचदेखि ६ सय जीबीपीएस खपत भइरहेको छ । प्रायजसो प्रयोगकर्ताकै कारणले पनि इटरनेट केही स्लो भएको हुन सक्छ । यो कुरा उहाँहरुले पनि बुझिदिँदा राम्रो हुन्छ,’ सीईओ साउदले भने ।

कोरोनापछि उनको सर्भरमा गूगल ३७ प्रतिशत, फेसबुक ७२ प्रतिशत र टिकटकको प्रयोग ७५ प्रतिशतभन्दा धेरैले बढेको उनले जानकारी दिए । साउदले मनोरञ्जनको लागि चलाइने एप या सर्भरले एचडी तथा उच्च क्षमतामा चलाउँदा इन्टरनेट स्लो हुने भएकाले सकभर त्यसो नगरिदिन आग्रह समेत गरे ।

त्यस्तै भायनेट कम्युनिकेसन प्रालिका प्रबन्ध निर्देशक विनय बोहोरले कोरोनापछि इन्टरनेट सेवा प्रदायकहरुलाई झनै ठूलो समस्या परेकेा बताए ।

‘इन्टरनेटको माग धान्नै नसक्नेगरी बढेको छ, हाम्रा उपकरण बिगि्ररहन्छन् । यस्तो बेलामा विदेशबाट आउने चार्टर जहाजमा सामान ल्याउन समय लाग्छ । भनेको बेलामा जनशक्ति पाइँदैन । कोरोनापछि हामी थप समस्यामा छौं,’ बोहोराले भने ।

दोष दिएर मात्रै हुँदैन : आनन्दराज खनाल

टीजेएफले गरेको भर्चुअल अन्तरक्रियामा दूरसञ्चार विज्ञ आनन्दराज खनालले देशमा भइरहेको अनेक अभावका बीच इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुले दिएको सेवामा सन्तुष्ट हुनुपर्ने बताए । महामारीको बेलामा इन्टरनेटको गुणस्तर सुधारको लागि विकसित देशले व्यान्डविथ बढाउनेदेखि अन्य धेरै पहल गरेको, तर नेपाल सरकारले भने उपभोक्तालाई छुट दिने निर्देशन बाहेक अरु केही नगरेको खनालको आरोप छ ।

‘इन्टरनेटको गुणस्तर सेवा प्रदायकको हातमा मात्रै छैन । इन्टरनेट आफैमा एउटा ठूलो प्रणाली हो । सरकार, नियामक र उपभोक्ताले धेरे बुझ्न बाँकी छ । यदी सेवा प्रदायकका दुःख बुझ्ने हो भने सेवाप्रदायकलाई गाली गर्ने थिएनौं होला,’ दूरसञ्चार विज्ञ खनालले भने ।

आईएसपीले विदेशमा व्यान्डविथको पैसा भुक्तानी गर्नका लागि पनि कयौं दिन यता र उता धाउनुपर्ने बाध्यता रहेको भन्दै खनालले सरकारले निर्देशन मात्रै दिने गरेको तर गुणस्तर सुधारको लागि नीतिगत र व्यवहारिक काममा ध्यान नदिएको बताए ।

उनले राउटर लगायतका सामग्री सेवाप्रदायक स्वयम्ले उपलब्ध गराउँदै आएको भन्दै कम गुणस्तरको राउटरकै कारण इन्टरनेट स्पिड कम भएको भनेर पन्छिन नमिल्ने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment