Comments Add Comment

नारायणी अस्पतालको पीसीआर प्रयोगशालाका कर्मचारी आन्दोलित

२१ भदौं, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालाका कर्मचारी आन्दोलित भएका छन् । प्रयोगशालाको कामकाज ठप्प पारेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

प्रयोगशाला इन्चार्ज हिराबाबु पाण्डेलाई जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसिएन राजेन्द्र चौरसियाले दुव्र्यबहार गरेको उनीहरुको भनाइ छ ।

मलेकुलर ल्याबभित्रै दुव्र्यबहार गरेकोले चौरसियालाई कारबाही तथा प्रयोगशालामा सुरक्षाको प्रत्याभूति नभएसम्म काममा नर्फकने चेतावनी उनीहरुले दिएका छन् ।

पीपीई लगाएर काम गरिरहेको अवस्थामा मलेकुलर ल्याबमा चौरसिया छिरेका कारण १७० वटा स्वाब नमूना परीक्षणको काम अवरुद्ध भएको आरोप उनीहरुले लगाएका छन् ।

त्यसमा प्रयोग गरिएको केमिकल र रिएजेन्ट खेर गएको छ । यस्तो अवस्थामा प्रयोगशालामा काम गर्न नसक्ने जानकारी लिखितरुपमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार ठाकुरलाई गराएको बताएका छन् ।

दुव्र्यबहारमा परेका इन्चार्ज पाण्डेका अनुसार उनी पीपीई लगाएर मलेकुरल ल्याबमा पीसीआर परीक्षणको तयारी गरिरहेका थिए । दुई ठाउँमा ७२/७२ वटा स्वाब नमुनाको मास्टर मिक्सिङको काम भइरहेको थियो ।

साढे १२ बजेतिर जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन राजेन्द्र चौरसिया सिधै मलेकुलर ल्याबभित्र पसे ।

काम गरिरहेको अवस्थामा ‘मेरो रिपोर्ट दिनुस’ भनेर कराउन थालेको र आफूले तपाईं बाहिर गएर रिपोर्ट लिनुस, मलाई काम गर्न दिनुस भन्दा धम्क्याएको पाण्डेको भनाइ छ ।

‘दादागिरी गर्ने हो, म सबै गर्मी झारिदिन्छु, नौटंकी गरेको ?’ भनेर धम्क्याउन थाले, कुटौंला झै गरे, सहकर्मी साथीहरुले बचाए,’ पाण्डेले भने ।

चौरसियाको छोराको स्वाब नमुना पीसीआर परीक्षणका लागि शनिबार बिहान साढे ११ बजेतिर प्रयोगशालामा बुझाइएको रहेछ । रिपोर्ट आइसकेको थियो ।

काउन्टर र रिसेप्सनमा गएर रिपोर्ट लिनुपर्नेमा स्वास्थ्य कार्यालय पर्साको परिचय पत्रको दुरुपायोग गर्दै चौरसिया पीसीआर ल्याबभित्र छिरेका थिए ।

‘म प्राविधिक हुँ, बिहान ८ बजेदेखि राति १२ बजेसम्म ल्याबमा पाँच/छ सय नमुना परीक्षण गर्छु, पोजेटिभ नेगेटिभ छुट्ट्याएर रिपोर्टिङ गर्छु,’ उनले भने, ‘अब अतिसंवेदनशील मलेकुलर ल्याबभित्रै आएर दुव्र्यबहार गर्छन् भने कसरी काम गर्ने ? सुरक्षित महशुस नहुँदा पीसीआर परीक्षण गर्न सकिन्न नी ।’

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर ठाकुरले भने समस्या समाधानका लागि छलफल भइरहेको बताएका छन् ।

प्रयोगशालाका कर्मचारीहरु आन्दोलित भएका कारण रिपोर्ट लिन अस्पताल पुगेका सेवाग्राही मर्कामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment