Comments Add Comment

राष्ट्रपतिको विज्ञ सल्लाहकारमा टीका ढकाल नियुक्त

२२ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो विज्ञ सल्लाहकारमा पाँचथरका टीका ढकाललाई नियुक्त गरेकी छिन् । ढकालले राष्ट्रपतिको सूचना सञ्चार विज्ञको जिम्मेवारी पाएका छन् ।

पाँचथरमा जन्मेर हाल भक्तपुर बस्दै आएका युवा अध्येता ढकालले त्रिविबाट अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन् ।

विभिन्न पत्रपत्रिकामा नियमित स्तम्भ लेख्दै आएका उनी अब राष्ट्रपतिका सञ्चार विज्ञको मुख्य भूमिकामा रहनेछन् । ढकाललाई ‘सूचना र सञ्चारसहित तोकिएको जिम्मेवारी पूरा गर्ने गरी’ नेपाल सरकारको राज्यमन्त्री सरहको विज्ञ पदमा नियुक्त गरिएको छ ।

यसअघि ढकालले सार्क विकास कोष लगायत विभिन्न अन्तर्राष्ट्रिय संस्थामा काम गरेका थिए ।

राष्ट्रपतिको विज्ञ सल्लाहकारमा नियुक्त ढकाल माओवादी शहीद परिवारका सदस्यसमेत हुन् । उनका भाइ मोहनप्रसाद ढकाल ०५८ साल कात्तिक ६ गते पाँचथरको आरुबोटेमा सुरक्षाकर्मीद्वारा मारिएका थिए ।

यसैवीच, राष्ट्रपतिले आफ्नो सचिवालय र विज्ञहरुको टीम घटाएर सानो बनाउन थालेको शीतलनिवास स्रोत बताउँछ ।

यसअघि राष्ट्रपतिका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिइसकेपछि सो ठाउँमा कसेको पनि नियुक्ति भएको छैन । त्यसैगरी सञ्चार विज्ञ माधव शर्मा र सुरक्षा मामिला विज्ञ नेत्र थापाले पनि विदा लिइसकेका छन् भने सचिवालयमा कार्यरत दीपा शर्माले पनि विदा लिएकी छन् ।

अहिले राष्ट्रपतिका विज्ञ सल्लाहकारमा लालबाबु यादव र लक्ष्मी कार्की मात्र थिए । ढकालको नियुक्तिपछि विज्ञ सल्लाहकारको संख्या तीन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment