Comments Add Comment

निकुञ्जभित्र गैंडा तस्कर फेरि सक्रिय भएका हुन् ?

लकडाउनको बेला सुरक्षा चुनौती बढ्यो : प्रमुख संरक्षण अधिकृत

२४ भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्र नवलपरासीको लौखानीमा रहेको पोष्टभित्र पर्ने बाँदरझुला टापुमा अन्दाजी २०/२५ वर्षको भाले गैंडा भदौ २१ गते मृत अवस्थामा भेटियो । गोली लागेको, घोलमा डुबेको र सड्न लागेको अवस्थामा थियो गैंडा। मृत गैंडाको खाग र खुर भने सुरक्षित थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार केही दिन पहिले त्यो क्षेत्रमा केही पड्केको जस्तो आवाज आएको थियो । सोही आधारमा निकुञ्जले गस्ती सो क्षेत्रमा केन्द्रित गर्दा मृत गैंडा फेला परेको हो ।

गैंडाको पोष्टमार्टम गर्दा टाउकोमा स–साना दुई प्वाल परेको भेटियो तर दुवै ठाउँमा गोली भने भेटिएन । यसले घटना थप रहस्यमय बनाएको छ । ‘हामीलाई पनि अचम्म लागेको छ, प्वाल छन् तर गोली छैन,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले भने, ‘सुरक्षाविज्ञहरुसँग पनि छलफल गरिरहेका छौं ।’

गैंडालाई गोली लागेको हुनसक्ने घटनाले निकुञ्जका संरक्षणकर्मीहरुलाई सशंकित बनाएको छ । कतै निकञ्जभित्र पुनः गैंडा तस्कर समूह सक्रिय बनेको त छैन ?

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निषेधाज्ञा र लकडाउनका बेलामा निकुञ्जभित्र झनै बढी सुरक्षा चुनौती भएको बताए

२०७३ चैत २५ गते बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा तस्करहरूले एउटा गैंडा मारेयता निकुञ्ज र मध्यवर्ती क्षेत्रमा तस्करको गोलीले गैंडा मरेका थिएनन् । कुनै बेला तस्करहरूले गर्ने चोरी–सिकार गैंडा मृत्युको मुख्य कारण बनेको थियो । खागकै लागि तस्करहरूले एकै वर्षमा ३८ वटासम्म गैंडा मारेको तथ्यांक निकुञ्जसँग छ ।

गैंडा मार्नका लागि तस्करहरुले सिमान्तकृत जातीहरुलाई प्रयोग गर्ने गरेको पाइएको छ ।

पछिल्लो समय चोरीशिकार ठप्प भएपनि प्राकृतिक कारणले भने गैंडा मर्ने क्रम बढेको थियो । आर्थिक वर्ष २०७५/०७६ मा ४३ वटासम्म गैंडा प्राकृतिक कारणले मरे । यसलाई घटाउन निकुञ्जले हरसम्भव प्रयास जारी राख्यो । गत आर्थिक वर्षमा जम्मा २६ गैंडा लापर्वाही र प्राकृतिक कारणले मरे । यो तथ्यांक आर्थिक बर्ष ०७४/०७५ को गैंडा मृत्यु संख्या २६ सँग बराबर छ ।

अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा गैंडाको मृत्युदर ३९.५ प्रतिशतले घटाउन सफल भएको निकुञ्जलाई सक्रिय हुन थालेको तस्कर समूहलाई निस्तेज पानुपर्ने थप चुनौती थपिएको छ । एकाएक चार वर्षपछि रहस्यमय तरिकाले गैंडा मरेको घटनाले निकुञ्जका संरक्षणकर्मीहरुलाई चिन्ता थपिदिएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत बराल भन्छन्, ‘निकुञ्ज सधैं सुरक्षा थ्रेटमा छ, ठूलो क्षेत्र घना जंगल छ, नारायणीका ठूला भंगालाहरु छन्, सीमित पोष्ट र सुरक्षाकर्मी हुनुहुुन्छ । थप सुरक्षा सतर्कता र सावधानी अपनाउनुपर्ने देखिएको छ ।’

निकुञ्जको सुरक्षा नेपाली सेनाको बटुकदल गणले गरेको छ । निकुञ्जभित्र ८ सय सैनिकले ४६ सुरक्षा पोष्टमा बसेर निकुञ्जको सुरक्षा गरिरहेका छन् । गैंडा मारे १५ वर्षसम्म कैद, १० लाख रूपैयाँसम्म जरिवाना वा कैद र जरिवाना दुवै हुने कानुनी व्यवस्था छ ।

प्रमुख संरक्षण अधिकृत बरालले निषेधाज्ञा र लकडाउनका बेलामा निकुञ्जभित्र झनै बढी सुरक्षा चुनौती भएको बताए । ‘मानिसहरु काम नपाएर बेकामे भएका छन्, बजार क्षेत्रमा केही छैन, जंगल जाँदा केही गरेर पैसा कमाउन सकिन्छ की भनेर निकुञ्ज र मध्यवर्ती क्षेत्रमा अपराधी सोच बोकेर प्रवेश गरेको पनि भेटिएको छ,’ बरालले भने, ‘भदौ महिनामा मात्रै हामीले ६४ जना पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं ।’

भदौमा चित्तल मार्ने चारजनासहित खाने २१ जनालाई पक्राउ गरिएको प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिए । उनले निकुञ्जभित्र बढेको तस्करी र चोरीको चाप घटाउन निकुञ्ज आपपासका समुदायलाई क्रियाशिल गराउँदै सचेतना फैलाउन आवश्यक रहेकोले बताए । ‘समुदायलाई एन्टिपोचिङ अभियानमा थप सक्रिय बनाउनुपर्ने आवश्यकताको महसुस गरेको छु,’ बरालले भने ।

गत वर्ष रोकिएको गैंडा गणना यसपटक गरिने

हरेक चार–चार वर्षमा गैंडाको गणना गरिने भए पनि अघिल्लो वर्ष बजेट अभाव र गत वर्ष कोरोना भाइरस संक्रमणका कारणले गैंडा गणनाको कार्य हुन सकेन । तर यसपटक भने गैंडा गणना गरिने निकुञ्जले जनाएको छ ।

पछिल्लो पटक सन् २०१५ (२०७१) मा गरिएको गैंडा गणनामा पर्सादेखि शुक्लाफाँटासम्मका चारवटा निकुञ्जमा ६४५ गैंडा भेटिएका थिए । गणनामा चितवन निकुञ्जमा सबभन्दा बढी ६०५ गैंडा पाइएको थियो । त्यसबेलाको गणनाअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा २९, शुक्लाफाँटा वन्यजन्तु आरक्षमा आठ र पर्सा वन्यजन्तु आरक्ष क्षेत्रमा तीन वटा गैंडा रहेको पाइएको थियो ।

वन्यजन्तुका अंगको मूल्य हुँदैन !

अखोटपहार जलाएर नष्ट गर्दै निकुञ्जका कर्मचारी

पैसा आर्जनका लागि भन्दै वन्यजन्तु मार्ने र तीनका अंगको तस्करी गर्ने गरेको पाइएको छ । तर, संरक्षणकर्मीहरू वन्यजन्तुको अंगको कुनै मूल्य नहुने बताउँछन् ।

प्रकृतिमा छँदा जिउँदो वन्यजन्तु अथाह सम्पत्ति भए पनि मरिसकेपछि त्यसको कुनै मूल्य छैन भन्ने सन्देश दिन सरकारले २०७४ जेठ ८ गते निकुञ्ज कार्यालय कसरामा अखोटपहारहरू जलाएको थियो ।

त्यतिबेला दुर्लभ बाघको छाला ६७ थान, गैंडाको खाग ३५७ थान, हात्तीको पुच्छरको रौं ३५४ थान, कस्तुरीको बिना ३४ थान, ध्वाँसे चितुवाको छाला २ थान, हिउँ चितुवाको छाला १ थान, चिरुको ऊन ४२ पोका, सालकको खपटा २ पोका, हाब्रेको छाला ४७ थान, चितुवाको छाला ४१८ थान, भालुको पित्त १५ थान गरी झण्डै चार हजार थान अखेटोपहार जलाएर नस्ट गरिएको थियो ।

वन्यजन्तुको अंगको मूल्य शून्य हुन्छ, वन्यजन्तुका अंगबाट कुनै पनि औषधि लगायत कुनै पनि प्रयोजनमा प्रयोग हुँदैन भन्ने सन्देश दिन २० वर्षपछि यसरी वन्यजन्तुका अखेटोपहार जलाइएको थियो ।

जलाएपछिको खरानीलाई निकुञ्ज कार्यालय छेउको खाडलमा गाडिएको थियो । अहिले सो स्थानमा वन्यजन्तु स्मृति स्मारक बनाइएको छ ।

वन्यजन्तु स्मृति स्मारक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment