Comments Add Comment

खोपलाई राजनीतिक हतियार बनाउँदैछन् ट्रम्प : बाइडन

२४ भदौ, काठमाडौं । अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जो बाइडनले ट्रम्पले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपलाई राजनीतिक हतियार बनाएको आरोप लगाएका छन् ।

विपक्षी डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार बनेका बाइडन र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै ट्रम्पले कोरोना भाइरसविरुद्धको खोपलाई राजनीतिक हतियार बनाएको आरोप लगाएका हुन् । ‘हामीले यसलाई विज्ञान र अनुसन्धानको उत्पादनको रुपमा हेरेका छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘खोप निर्माणको समय, प्रमाणीकरण र वितरणमा कुनै पनि किसिमको राजनीतिक हिसाबकिताब हुनु हुँदैन ।’

उनीहरुले राष्ट्रपति ट्रम्पले कोरोना भाइरस नियन्त्रणको लागि नेतृत्वदायक भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् ।
पछिल्लो समय बढेको चुनावी प्रचारको क्रममा दुवै उम्मेदवारहरुले कोरोना भाइरसको महामारीमा एकअर्कामाथि प्रहार गर्दै आएका छन् ।

यसअघि ट्रम्पले बाइडनलाई ‘मूर्ख’को संज्ञा दिँदै आफूले कोरोना भाइरस नियन्त्रणको लागि गरिरहेको प्रयासमा बाइडनले धेरै मानिसको जीवन जोखिममा पार्न सक्ने बताएका थिए ।

अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक लाख ९० हजारको हाराहारीमा पुगिसकेका छन् । यस्तो अवस्थामा ट्रम्प नोभेम्बर ३ मा हुने निर्वाचनअघि नै खोपलाई अनुमति दिँदै मानिसहरुलाई प्रयोगका लागि तयार पार्ने दिशामा अघि बढेका छन् ।

स्रोत :अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment