Comments Add Comment

करारका एक चिकित्सकका भरमा मनाङ अस्पताल

२४ भदौ, मनाङ । हिमालपारिको जिल्ला मनाङमा करारका एक चिकित्सकका भरमा जिल्ला अस्पतालको सेवा प्रवाह हुँदै आएको छ ।

सुगम क्षेत्रमा धेरै चिकित्सक रहने भए पनि ग्रामीण क्षेत्रमा भने चिकित्सकको अभाव हुने गरेको छ । जिल्ला अस्पताल मनाङमा मेडिकल अधिकृत एवं कोरोना फोकल पर्सन डा. सन्तोष अधिकारी एकमात्र चिकित्सक हुन् ।

मनाङबाट एकजना चिकित्सकलाई पनि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सरुवा गरी पोखरा तानेपछि मनाङमा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ । मनाङ जिल्लाभरको स्वास्थ्य सेवाका लागि अस्पताल पनि एउटै र अस्पतालमा कार्यरत चिकित्सक पनि एक जना मात्र रहेको प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले बताए ।

‘कोभिडका बिरामीका लागि उपचार गराउन कस्तो समस्या देखिन्छ, सोही अनुसार उपचार गर्नुपर्ने हुन्छ तर यहाँको अस्पतालमा एक जना मात्रै चिकित्सक हुनुहुन्छ, जिल्लावासीको उपचारका लागि एक जनाले मात्रै गर्दा समस्या र चुनौती छ’, प्रजिअ गिरी भने, ‘जिल्लाको एक मात्र चिकित्सक बिदामा बस्नुपर्ने वा बिरामी परे अझ बढी समस्या हुन्छ, यो समस्या समाधानका लागि छलफल भइरहेको छ ।’

अहिले चिकित्सक डा. अधिकारी दैनिक बिरामी र कोरोना सङ्क्रमितको सेवामा व्यस्त छन् । दुई जना चिकित्सकको दरबन्दी भए पनि जिल्ला अस्पताल मनाङमा दरबन्दीका चिकित्सक एक जना पनि छैनन् । अहिले भएका चिकित्सक पनि करारका हुन् ।

स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार जिल्लामा दुई चिकित्सक, दुई स्टाफ नर्स, अहेब, सहयोगी गरी ११ जनाको दरबन्दी भए पनि अहिलेसम्म अस्पतालमा चिकित्सकसहित ४ जना करारका कर्मचराीले सेवा दिइरहेका छन् । जसमा एक चिकित्सक, एक नर्स, एक सिनियर अहेब र एक जना ल्याब टेक्निसियन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment