Comments Add Comment

लुम्बिनीमा पर्यटक भित्र्याउने योजना बनाउन समिति गठन

२४ भदौ, काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा छ । विदेशमा रोकिएका विज्ञ कामदार नेपाल आउने वातावरण बनेसँगै यो आयोजनाको अन्तिम चरणका काम पुरा हुने पर्यटन मन्त्रालयले जनाएको छ ।

यसै सिलसिलामा नेपाल पर्यटन बोर्डले गौतमबुद्धको जन्मस्थललाई पर्यटकीय उपजकारुपमा विकास र प्रवर्द्धन गरी पर्यटक भित्र्याउने योजना बनाउन समिति गठन गरेको छ ।
बुद्धिष्ट पर्यटन प्रवर्द्धन समिति नाम दिइएको यो समिति बोर्डका सीइओ डा. धनन्जय रेग्मीको संयोजकत्वमा गठन भएको हो । समितिको सहसंयोजक निजी क्षेत्रबाट विक्रम पाँडेलाई तोकिएको छ ।

बोर्डका अनुसार नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमार्फत बुद्धको जन्मस्थलसम्म पर्यटक आयोजना योजना बनाउन यो समितिले काम गर्नेछ । यसबाहेक स्थलमार्गबाट लुम्बिनीमा अधिक संख्यामा पर्यटक ल्याउन सकिने सम्भावना बारे खोजी गर्ने बोर्डले जनाएको छ ।

समितिमा बौद्ध धर्मसँग सम्बन्धित सरोकारवाला निकायसँगै वरिष्ठ पर्यटन तथा होटेल व्यवसायीलाई समेत राखिएको छ । डा. सन्दुक रुइत, होटेल व्यवसायी अम्बिका श्रेष्ठ र कर्ण शाक्य, बुद्घ धर्म संस्कृतिका अध्यता प्रा.डा.रमेश ढुङ्गेललगायत समितिमा सदस्य छन् ।

लुम्बिनी विकास कोषले समेत समितिमा सक्रिय रुपमा काम गर्नेछ । समितिले बुद्घसँग सम्बन्धित स्थल तिलौराकोट, रामग्राम, देवदह, कुदान, गोटिहवा, निग्लिहवा, सगरहवाको प्रबर्धन, ब्राण्डीङ, सौन्दर्यीकरणको योजना बनाउने भएको छ । यी गन्तब्यसँग लुम्बिनीलाई जोडेर पर्यटक आकषिर्त गर्न सकिने सम्भावना तथा प्याकेजको समेत योजना बनाउने बोर्डले जनाएको छ ।

लुम्बिनीलाई अन्तर्राष्ट्रिय बजारहरुमा प्रचार प्रसारको मोडालिटी बनाउने जिम्मेवारी समेत समितिले पाएको हो । समितिले निकालेको निष्कर्षका आधारमा कार्ययोजना बनाई तिनै तहका सरकार, स्थानीय समुदाय, निजी क्षेत्र, लगानीकर्ता, अन्तर्राष्ट्रिय साझेदार संस्थाहरुसंग सहकार्य गर्ने नीति ल्याइएको बोर्डको भनाइ छ ।

यसअध्यनमा पद्मसम्भवमार्ग, बृहत् लुम्बिनी क्षेत्र, लुम्बिनी सर्किट, बुद्धिष्ट सर्किटलगायतका महत्वपूर्ण पथ, परिपथको समेत खोजी गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment